हर्क र रबिले रुँदै-नुहाउँदै पानी ल्याए: महेशद्वारा हाँसी-हाँसी भक्तपुरको खानेपानीको सबै समस्या समाधन

हर्क र रबिले रुँदै-नुहाउँदै पानी ल्याए: महेशद्वारा हाँसी-हाँसी भक्तपुरको खानेपानीको सबै समस्या समाधन

3707

भक्तपुर, २९ असार । सिस्टमले काम गरे असम्भव भन्ने हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरणको लागि आज नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले प्रमाणीत गर्नुभएको छ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चर्चाको लागि खानेपानी व्यवस्थापन गर्न रुँदै नुहाँउदै पानीको व्यवस्थापन गर्नुभयो । जुन समय तथा दिर्घकालिन तवरले नभई क्षणिक मात्र रहेको छ । तर त्यसभन्दा फरक, छिटो र व्यवस्थित तरिकाले नेता बस्नेतले हाँसी हाँसी भक्तपुरको खानेपानीको समस्या समाधान गर्नुभएको छ ।

पूर्वमन्त्री बस्नेतले पहलमा मध्यपुर थिमी नगरपालिकाको कौशलटार र गठ्ठाघर क्षेत्रका घरहरुमा दैनिक ११ लाख लिटर थप खानेपानी वितरण शुरु भएको छ । कौशलटारमा गरिएको डिपवोरिङबाट दैनिक सात लाख र गठ्ठाघरकोबाट पाँच लाख लिटर खानेपानी वितरण गर्न सकिने आयोजनाले जनाएको छ । नेता बस्नेतको पहलमा केयुकेएलबाट प्राप्त दुई करोडको लगानीमा गठ्ठाघर र कौशलटारमा दुई वटा डिपवोरिङ निर्माण गरिएको थियो ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको आयोजनामा डिपवोरिङको माध्यमबाट कौशलटारमा दैनिक सात लाख र गठ्ठाघरमा पाँच लाख लिटर गरी ११ लाख लिटर खानेपानीको थप वितरण शुरु गरिएको हो । कौशलटारमा सात सय परिवारलाई पुग्ने खानेपानीको शुरु गरिए पनि केही दिन भित्रमा नै स्थानीयवासीको घरघरमा पुग्ने गरी वितरण गरिने केयुकेएलले जानकारी दिएको छ । गठ्ठाघरमा पहिले नै खानेपानी वितरण शुरु गरि सकिएको छ ।

मध्यपुर नगरपालिकामा खानेपानीको सवैभन्दा बढी समस्या रहेको कौशलटार र गठ्ठाघरमा उक्त डिपवोरिङ सञ्चालनमा आएसँगै ठूलो राहत हुने स्थानीयवासीको बुझाई रहेको छ । उक्त डिपवोरिङबाट दैनिक सात सय धारामा खानेपानी वितरण गर्न सकिने भएपनि तत्कालको लागि भने करिव चार सयमा मात्र वितरण गर्ने बताइएको छ । उक्त डिपवोरिङबाट उत्पादित पानीलाई ट्रिटमेन्ट (प्रशोधन) गर्नुपर्ने भएकाले तत्कालका लागि भने खानेपानीको वाहेक घरायासी प्रयोग मात्र गर्न सकिने केयुकेएल मध्यपुर थिमीका प्रमुख अनिलकुमार त्रिखत्रीले जानकारी दिनुभयो । आगामी आर्थिक वर्षमा करिव तीन करोड बजेट व्यवस्थापन गरी ट्रिटमेन्ट प्लान्ट निर्माण गरी पानी प्रशोधन गरेपश्चात मात्र पिउन योग्य पानी आउने उहाँले जानकारी दिनुभयो ।

नेता बस्नेत, एमाले जिल्ला अध्यक्ष बचन देउजा, वडा सदस्य सुरेश न्यौपाने, केयुकेएलका प्रतिनिधि सहितको टोलिले भक्तपुरवासी जनतालाई शुद्ध खानेपानी वितरण गर्नुपर्नेमा जोड दिँदै टिगिनीमा रहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रशोधन स्थलको निरिक्षणसमेत गरिएको छ । निरिक्षणका क्रममा प्रशोधन केन्द्रको अवस्था, आगामी दिनमा गर्नुपर्ने सुधार तथा आवश्यकताको बारेमा छलफल भएको थियो । स्थलगत निरिक्षण तथा अनुगमनका क्रममा प्रशोधन केन्द्रको बारेमा केयुकेएलका इलेक्ट्रो मेकानिकल शाखा प्रमुख कृष्णहरी बुढाथोकीले प्रशोधन केन्द्रको बारेमा जानकारी गराउनुभयो ।

दैनिक रुपमा करिव दुई करोड पानी प्रशोधन गर्ने क्षमता रहेको उक्त स्थानबाट हाल दैनिक एक करोड लिटर खानेपानी प्रशोधन गरी काठमाडौँ तथा भक्तपुरका विभिन्न स्थानमा खानेपानी वितरण भइरहेको छ । उक्त स्थानबाट मध्यपुरका सवै वडाहरु, चाँगुनारायण नगरपालिका वडा नं. १ का केही भाग तथा बाँकी करिव २५ प्रतिशत खानेपानी काठमाडौँ जाने गरेको केयुकेएल मध्यपुर प्रमुख त्रिखत्रीले जानकारी दिनुभयो ।

दुवै कार्यक्रम पश्चात आयोजित संक्षिप्त कार्यक्रममा नेता बस्नेतले खानेपानीको शुद्धता, गुणस्तरीय र सरसफाई हुनुपर्नेमा जोड दिनुभयो । स्वच्छ खानेपानी खान पाउनुपर्ने जनताको नैसर्गिक अधिकार भएकाले केयुकेएलले खानेपानी शुद्धिकरणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । खानेपानीको नियमन गर्ने निकायको सुदृढिकरण, खानेपानी सुरक्षा योजनाको कार्यान्वयन र खानेपानी शुद्धिकरणका घरायसी तरिकाहरूबारे सामुदायिक चेतना विस्तार गरी खानेपानीको गुणस्तर वृद्धि गर्ने विषयमा जोड दिँदै उहाँले मेलम्चीको खानेपानीलाई समेत प्रशोधन गरी भक्तपुरका सम्पूर्ण क्षेत्रहरुमा वितरण गर्नुपर्नेमा जोड दिनुभयो ।

‘स्थानीयवासीलाई वितरण गर्ने खानेपानीको शुद्धता, गुणस्तरीय र सरसफाईमा विशेष ध्यान दिनुपर्छ’, उहाँले भन्नुभयो, ‘केयुकेएल मध्यपुरले स्थानीय पानीको स्रोतमात्र प्रयोग गरेको छ । आगामी दिनमा मेलम्चीको खानेपानीलाई समेत जोडेर खानेपानीको समस्या समाधान गर्नुपर्छ ।’ खानेपानीको सुविधाबाट बञ्चित जनसंख्यासम्म खानेपानी पुगेको सुनिश्चित गर्ने रणनीतिको विकास गर्ने, तथा खानेपानी वितरण प्रणालीको उपयोगिता, वितरण क्षेत्र, दिगोपन र विश्वसनीयतालाई सुदृढिकरण गर्ने विषयमा उहाँले केयुकेएलका प्रतिनिधिहरुलाई सचेत गराउनुभयो ।

नेता बस्नेतले मध्यपुर नगरपालिकाबाहेक मेलम्चीको खानेपानी नपुगेको सूर्यविनायक नगरपालिकाका वडा नं. १ देखी ७ सम्मका सम्पूर्ण वडाहरुमा तत्काल मेलम्चीको खानेपानी वितरण गर्नुपर्नेमा जोड दिनुभयो । खानेपानी वितरणको लागि उक्त क्षेत्रहरुमा टैंकी निर्माण भइसकेको जानकारी गराउँदै उहाँले उक्त टैंकीमा स्टोर गरी तत्कालको लागि खानेपानी वितरण गर्न सकिने उहाँले सुझाव दिनुभयो । जवाफमा केयुकेएका प्रतिनिधिहरुले आवश्यक प्रकृया पुरा गरी चाँडै सूर्यविनायकका १ देखी ७ वटै वडाहरुमा खानेपानी वितरणको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनुभयो । पाण्डुबजारमा निर्माण गरिएको टैंकीबाट सूर्यविनायक क्षेत्रका वडाहरुमा खानेपानी वितरण गर्न सकिने स्पष्ट पार्नुभयो ।

तपाईको बिचार

सम्बन्धित खबर