समाजवादी मोर्चाले सरकारका गलत कार्यको भण्डाफोर गर्ने

समाजवादी मोर्चाले सरकारका गलत कार्यको भण्डाफोर गर्ने

561

काठमाडौँ । समाजवादी मोर्चाले सरकारका गलत कामको भन्डाफोर गर्ने भएको छ । मोर्चाले आगामी १६ माघमा काठमाडौँ केन्द्रित आमसभा गर्ने निर्णय गरेको छ। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लवको अध्यक्षतामा बुधबार बसेको बैठकले काठमाडौँ केन्द्रित कार्यक्रम गर्ने निर्णय गरेको हो।

‘सरकारले राम्रो काम गर्न सकेन। सरकारले गरेका गलत काम जनतालाई बताउन मोर्चाको कार्यक्रम तय गरेका छौँ,’ एकीकृत समाजवादीका वरिष्ठ नेता डा.बेदुराम भुसालले बताए ।

बैठकपछि नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बैठकमा मोर्चाको आठौँदेखि नवौँ बैठकको बिचको गम्भीर समीक्षा भएको बताए । ‘सुरुमा समाजवादी मोर्चाको गठन र तय भएका कार्यक्रमले देशैभर ठुलो ह्विम क्रिएट भएको थियो। कम्युनिस्ट क्रान्तिकारी, देशभक्तहरूमा र आमजनतामा उत्साह पनि पैदा भएको थियो। तर, बिचमा पार्टीका आन्तरिक कामका कारणले समाजवादी मोर्चाको कार्यक्रम अघि बढाउने सन्दर्भमा हाम्रो गति थोरै धिमा भयो । आगामी दिनमा कमजोरी दोहोरिन नदिने गरी अघि बढ्छौँ,’ उनले भने ।

समाजवादी मोर्चाका आगामी योजना बनाएर शीर्ष नेतालाई बुझाउने जिम्मा कार्यदललाई दिइएको छ। यसअघि गत १ साउनमा दस्ताबेज तयार पार्न कार्यदल गठन भए पनि हालसम्म दस्ताबेज टुंगिएको छैन।

कार्यदलमा माओवादी महासचिव देव गुरुङ, एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमाल, नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठ छन्।

नेपाली विशेषताको समाजवाद निर्माण गर्ने लक्ष्यसहित ४ असार ०८० मा समाजवादी मोर्चा गठन भएको थियो । तर, मोर्चा आफैँले घोषणा गरेका कार्यक्रम अलपत्र छन्।

तपाईको बिचार

सम्बन्धित खबर