लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

589

काठमाडौं । कैलाली, धनगढी उपमहानगरपालिका-३ ब्यारेल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम २ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-३ मिलन चोक बस्ने ३४ वर्षीय सरोज चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय धनगढी, प्रहरी चौकी त्रिनगर र लागूऔषध नियन्त्रण ब्यूरो धनगढीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ देवरिया डेरा गरी बस्ने कञ्चनपुर लालझाडी गाउँपालिका-१ बस्ने १९ वर्षीय सन्तोष चौधरी समेत ४ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित गए राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-८ बुद्धचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय सुमित घिमिरेलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

नवलपरासी पूर्व, कावासोती नगरपालिका-१६ चालिसकिलोबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४८ एम्पुल, नुफिन ४८ एम्पुल र फेनारगन ४८ एम्पुल सहित कास्की पोखरा महानगरपालिका-३३ लेखनाथ बस्ने २८ वर्षीय मनिस थापा मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख १८०४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

महोत्तरी, लोहारपट्टी नगरपालिका-२ मधेपुरा बस्ने ५२ वर्षीय सुरेन्दर यादवलाई अवैध लागूऔषध गाँजा करिब ४ सय ग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लोहारपट्टीबाट खटिएको प्रहरीले यादवले आफ्नै घरमा संचालन गरेको किराना पसल तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो।

मकवानपुर, थाहा नगरपालिका-११ टिस्टुङस्थित सडकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब २१ किलो ६ सय ग्राम र अफिम जस्तो देखिने पदार्थ करिब ३ किलो ५ सय ग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारत हिसार राज्य हरयाना ग्राम पंचायत गोबिन्द नगर थाना सदर बस्ने २५ वर्षीय कुनाल गोथ्वाल र २० वर्षीय मनिस कुमार रहेका छन्। इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले नौखण्डेबाट नौबिसेतर्फ जाँदै गरेको डिएल ८ सिएक्स १२२४ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको पछाडीको दुवै साईडको ढोका र च्यासिसको भागमा फल्स बटम बनाई लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी कार चालक कुनाल र कारमा सवार मनिसलाई पक्राउ गरेको हो।

सुनसरी, ईटहरी उपमहानगरपालिका-४ आईतबारेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ९० ट्याब्लेट, स्पास्पेन ३ सय ९० ट्याब्लेट र नाईट्राजेपाम २० ट्याब्लेट सहित ४ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका-१४ बस्ने २९ वर्षीय रूपेश नारायण चौधरी, सोही उपमहानगरपालिका-८ बस्ने २२ वर्षीय बिसाल रसाईली, २० वर्षीय सबिन विश्वकर्मा र सोही उपमहानगरपालिका-१ बस्ने २० वर्षीय सेभिज भण्डारी रहेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

तपाईको बिचार