काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले परियोजनाको आवश्यकता, सान्दर्भिकता र लगानीको प्रतिफलमा ध्यान नदिँदा १६ वटा विमानस्थल बन्द रहेको बताए ।
बिहीबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै अध्यक्ष नेपालले लहडको भरमा निर्णय लिँदा विमानस्थलहरुबाट प्रतिफल प्राप्त गर्न नसकेको बताएका हुन् ।
कुनै पनि परियोजनामा पैसा डुबाउनका लागि नभई प्रतिफल प्राप्त हुने गरी लगानी गर्न जरुरी रहेको उनको भनाइ थियो। उनले विमानस्थलहरुको हालको अवस्थाबारे समितिमा प्रतिवेदन बुझाउनसमेत माग गरे ।
अध्यक्ष नेपालले भैरहवास्थित लुम्बिनी विमानस्थल कसको दबाबमा बनाइएको हो ? भन्दै प्रश्न गरेका छन् । उनले हालको अवस्थामा उक्त विमानस्थल चलायमान बन्न नसक्नेसमेत उल्लेख गरे ।
उनले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प निजगढ विमानस्थल भएको उल्लेख गरे । ‘कुनै पनि परियोजना तर्जुमा गर्नुभन्दा पहिले त्यसको आवश्यकता, सान्दर्भिकता र लगानीको प्रतिफलमा हामीले विशेष ध्यान दिनुपर्छ। हाम्रो समस्या केछ भने हामी लहडको भरमा निर्णय लिन्छौँ।’ अध्यक्ष नेपालले भने ।
तपाईको बिचार