पत्रकारको भोट पत्रकारले नै हाल्न पाउलान् ?

पत्रकारको भोट पत्रकारले नै हाल्न पाउलान् ?

939

नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशन सकिएको छ । महाधिवेशनले पहिलोपटक महासंघमा महिला अध्यक्षका रुपमा अग्रज पत्रकार निर्मला शर्मालाई पाएको छ । यो सत्तागठबन्धनको नेतृत्व हो । पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले सधैँ भन्थे, ‘पत्रकार हुनु भनेको प्रश्न सोध्ने अधिकार नरोकिनु हो, पत्रकार तबसम्म भइन्छ, जबसम्म ऊ प्रश्न सोध्ने हैसियतमा रहन्छ ।’ तर यसपटक प्रश्न सोध्ने हैयिसतको पत्रकारहरु पाखा पारिएका छन् ।

नेपाल पत्रकार महासंघको अध्यक्षका एक उम्मेदवार देवीप्रसाद सापकोटाले समेत शिव गाउँलेले फोन गरेर ‘निर्मला शर्मालाई सहयोग गर्नुहोस्’ भनेको सामाजिक सञ्जाल मेटामै लेखेका छन् । नेकपा एमाले र नेपाली कांग्रेसको सत्तागठबन्धनकै पेरिफेरिमा जन्मिएको प्रेस युनियन–चौतारीको गठबन्धन हो यो । यसले नेपाल पत्रकार महासंघलाई नेतृत्व गर्ने अवसर पाएको छ ।

नेपाल पत्रकार महासंघ मकवानपुरमा सदस्य थिएँ, २०५९ मा त कार्यसमिति सचिव नै थिएँ, नयाँ पुस्ताका भाइबहिनी आए । भेट हुँदा हामी दाइले लेखेको, बोलेको देखेर पत्रकार भएको भन्छन् । तर तिनीहरुलाई दलहरुका दलालहरुले पत्रकारिताको सामान्य सिद्धान्त पनि यस्तोसँग मेटाइदिए कि उनीहरु पत्रकार महासंघमा पुगेपछि मेरै सदस्यता संकटमा परेको थियो । बिहान विमान चढेर सिमरा, बारा पुगेँ, गाडी चढेर हेटौँडा पुगेँ । भोट हाल्ने ठाउँमा पुगेँ । २०–३० सदस्य भाइबहिनी, दमाली, अग्रजले न्यानोपन देखाउनु भयो । पर्दा पत्रकारलाई पत्रकार नै चाहिन्छ । तर एउटा मेसिनरी सामान बेच्नेले मैले पत्रकार महासंघको सदस्य त्यागेँ, तिमी पनि त्याग भन्यो, मौन बसेँ ।

बिहान टिभीमा काम गर्छु, बेलुका पत्रिकामा सम्पादक छु, कसरी दुईचार चम्चाका अगाडि उसले यसरी भन्नसक्यो, न म दालचामल बेच्नेहरुको वाणिज्य संघमै छु । ५० को दशकदेखि प्याच्च बोल्ने उसको थुतुनोसँग मेरो कुनै प्रतिवाद रहेन, भोट हालेँ, गाडी चढेँ, सिमरा फर्किएँ, काठमाडौ आएँ, बेलुका पत्रिकामा काम गर्नु नै थियो, मेसिन बेच्नु थिएन, कमिसनले जिन्दगी चलाउनु थिएन, प्रहरी प्रशासनका हाकिम फकाउनु पर्छ भनेर रक्सीका बोतल बोकेर सिडिओ नमानेपछि एसपीको क्वार्टर जानु थिएन । बरु एसपी साब भन्दैथिए, ‘जम्मा दुई–तीन कार्टुन बियर माग्छन् यार, अचेल पत्रकारले रक्सी खान छाडेका हुन्, पुग्छ त्यतिले ?’

अघिल्लो दिनदेखि नै पत्रकार महासंघको चुनावका लागि पार्टीका नेताहरुको तारन्तर फोन आइरहेको थियो । वर्षदिनमा एकदिन ‘हाइहेल्लो’ नगर्ने, समाचारको विषयबस्तु नदिने, एक कप चिया सँगै नखाएकाहरुलाई आफ्नो कार्यकर्ता जिताउनु थियो । साँझबिहान फोन गरेर हैरान पार्थे । भोट हाल्ने ठाउँमा पुगेको मात्रै । एउटा पार्टीका थुप्रै केन्द्रीय सदस्यहरु, प्रदेशमा मन्त्री भइसकेकाहरु घाम तापिरहेका थिए । सुनेँ, अर्को पार्टीका नेता, जनप्रतिनिधिहरु पनि बिहानै आएर आफ्ना ‘भक्त’हरुले हार्लान् कि भनेर फरमान जारी गरेर हिँडिसकेका थिए ।

अर्को चैँ पत्रकार महासंघमा मैले टिकट दिएको मान्छे जिताउनु पर्छ भनेर एक्लै बसिरहेको थियो । केही पत्रकार साथीहरु भोट मागिरहेका थिए । अघिल्लो दिन नै दुई पार्टीले आफ्ना ‘तलुवा’हरुलाई जिताउन ‘कलुवा’हरुलाई निर्देशनात्मक अनुरोध गरेको थियो । पत्रकारको चुनावमा पार्टीले निर्देशन दिने तहमा संगठनहरु पु¥याउन अहोरात्र मेहनत गर्ने पत्रकार संगठनका ज्ञातअज्ञात नेताहरुको अनुहार सम्झिएँ, कठै दाइ पत्रकारहरुबाट संगठन खोसेर नेता भएका भाइ पत्रकारहरु !

हामी पत्रकार हौँ भन्ने धेरै देखिए । पछिल्लो समय तिनले लेखेको नयाँ एउटा समाचार, अडियो रिपोर्ट, भिडियो रिपोर्ट या फिचर खोज्न परे महाभारत नै हुने गर्छ । तर नेताहरुको गोजीबाट चुनावका बेला फुत्त–फुत्त यस्तरी उम्मेदवारहरु मैदानमा आउँछन् कि पार्टीका अध्यक्ष, पदाधिकारीहरु नै फलानाको टिकट के भयो भनेर चिन्तन गर्छन् । अलि अगाडि चुनाव हुने हल्ला हुँदा मैले आस्था राख्ने पार्टीका नेताले ‘फलानोको टिकट के हुन्छ’ भनेर सोधेका थिए । मैले ‘म उठ्ने होइन’ उनीहरुमध्येले पाउँछन् भनेको थिएँ । पछि त पार्टीमा अध्यक्ष र पदाधिकारीहरुकै चासो बढ्न थाल्यो । एउटा पत्रकार बोकेर नेताको घर टिकट माग्न जाने पार्टीका नेताहरु देखिन थाले ।

नेताको घर गएपछि टिकट पाइने भयो, संगठन किन गर्ने ? समाचार लेख्न छाडेर, कामधन्दा बिगारेर संगठनको नेता किन हुने ? एउटा नेताको सुरुवालको फेर समात्यो, उम्मेदवार भयो, जिते जिन्दावाद, हारे ‘घातैघात’ भनेर फेसबुकमा रोए भइगयो । यस्तै अनुहारहरुले यसपटक नेपाल पत्रकार महासंघका नेतृत्वमा टिकट पाएका छन्, केहीले जितेर पत्रकार नेताको पगरी गुथेका छन् । तिनले पत्रकारका मुद्दा उठाउँछन् कि शिव गाउँले भनेजस्तै प्रश्न सोध्ने हैसियत गुमाउँछन्, पुस १ गतेदेखि नै परीक्षणकाल शुरु भएको छ ।

हरेक दिन समाचार महाशाखामा काम गर्न आउने नयाँ अनुहारहरु भेट हुन्छन् । कैयौँ वर्षको पत्रकारिताको अनुभव सुनाउँछन् । लाग्छ, यस्तो कर्मठिलो सहकर्मीहरु समाचार महाशाखामा जरुरी छ । उनीहरुले भन्न बाँकी केही राख्दैनन्, यसो गरेँ, उसो गरेँ । अनेकानेक अनुभवयुक्त साथीहरुलाई अनुरोध गर्छु, ‘गजब छ, ठीक छ, एउटा सादा पानामा आफैँले हस्तलिखित निवेदन लेख्नुस् न है, म किन यो सञ्चारगृहमा काम गर्न चाहन्छु ? धेरै पर्दैन, १५० शब्द भए पुग्छ ।’ यति भनेर पठाएपछि उनीहरु आउँदैनन् ।

चोकका फोटोकपी र टाइप गर्ने पसलमा बनाइएका अंग्रेजी ‘करिकुलम भाइटा’का भरमा पत्रकार राख्दा धेरैपटक पछुताएको छु । यस्ता गफका भारीहरु बिसाउन अचेल म मेरै अगाडि हस्तलिखित निवेदन माग्ने गर्छु । पछि उनीहरुका नातेदारहरु, ठेकेदारहरु, नेताहरु फोन गरेर मलाई भलिभाँतीसँग सम्झाउँछन्, ‘यति सानो काम तपाईं आफैँले गरिदिएको भए हुने, निवेदन त तपाईंले लेखिदिए हुन्न दुई लाइन ?’ ‘हो, यही सानो काम पनि सक्दैनन्, कसरी समाचार लेख्छन्, पढ्छन्, ह्रश्व–दीर्घ ध्वस्त छ, भाषामाथि बलात्कार गर्न मलाई थप सहकर्मी चाहिएको छैन, समाचार लेख्ने काम गाह्रो हो भन्ने बुझेरै निवेदन लेख्न अल्छी मानेर तपाईंलाई फोन गर्न लगाएको तपाईंले चैँ बुझ्नुहोला’ भन्न नभ्याउँदै सिफारिसकर्ताको फोन काटिन्छ । यसरी सिफारिसमा पत्रकार हुने र पत्रकार भनेर समाचार नलेख्नेको भिड बनाउन हामीले ५० को दशकयता धेरै ठूलो मेहनत गरेकाले अहिले लेख्ने, बोल्ने पत्रकारको अभाव भयो र सामाजिक सञ्जाल र न्यु मिडियाले हाम्रो पत्रकारिता लगभग विस्थापित गर्ने अवस्थामा पुगेको छ ।

हाम्रो प्रेस सल्लाहकारहरुलाई राज्यले ‘कअ’ भनेर चिन्छ अर्थात् कम्प्युटर अधिकृत–अपरेटर । तिनको काम आफ्नो मुखिया (वडाध्यक्ष, उपमेयर, मेयर, मन्त्री) न्वारान–पास्नीमा गएको फेसबुक लाइभसम्म गर्न सक्छ । कुन कार्यक्रममा जाने, के बोल्ने भन्ने भाषण तयार गर्न सक्दैनन् । जब नेताको पछि झोले बनेर ६–७ महिना हिँडिन्छ, त्यसपछि ‘प्रेस सल्लाहकार’को बर्को ओढेपछि अलिअलि सिकेको समाचार लेख्ने कला पनि ‘प्यारालाइसिस’ भइसकेको हुन्छ ।

अझ रमाइलो त यस्ता प्रेस सल्लाहकारहरुको काम कार्यालयमा बसेर अरुले आलोचना गरेको समाचार खोज्ने र त्यसका सम्पादक या मालिक खोजेर त्यो समाचार हटाउन निर्देशन दिने हुन्छ । यसरी पत्रकार नै प्रयोग गरेर पत्रकारिता मार्ने काममा अभ्यस्त छन् अहिले पनि केही पत्रकार साथीहरु । जो करारको कम्प्युटर अधिकृतको परिचय पत्र बोकेर प्रेस सल्लाहकार भन्दै बजारमा देखिन्छन् ।

अब महासंघमा कस्ता मान्छे आए भनेर चिन्तन नगरौँ । यिनले नेपाली पत्रकारितालाई अब्बल समाचारकर्मी उत्पादनका लागि कारखाना चलाउन सकिन्छ कि भनेर चिन्तन गर्लान् कि नगर्लान् भनेर अहिलेदेखि नै चिन्तन गरौँ । किनभने मिडिया मालिकहरु भनिरहेका छन्, ‘टिभी खोलौँ, बोल्ने मान्छे छैन, रेडियो खोलौँ जनशक्ति छैन, पत्रिका खोलौँ लेख्ने मान्छे छैन ।’ उनीहरुका पनि पीडा छन् ।

वीरगंजको एउटा नामुद तस्करले  आफ्नाविरुद्ध समाचार आउन थालेपछि ११ वटा अनलाइन अर्थात डटकम डाेमेन लिएछन् । तर उनले पछि भने, ‘डटकमलाई लेख्न पत्रकार कहाँ पाइन्छ दाइ ?’ हाे समाचार लेखिदिने, बोलिदिने मान्छे छैनन् । हामी पत्रकारहरु फेरि २४ हजार ५ सय रुपैयाँ पनि पर्दैैन हजुर, १५ हजार रुपैयाँमै काम गरिदिन्छौँ भन्दा पनि काम पाउँदैनौँ र फेसबुकमा रोइलो हानेर बसेका छौँ । अनि नागरिक पत्रकारिताका नाममा युट्युब, टिकटक लाइभले हाम्रो पत्रकारिता लगभग सघन कक्षमा पु¥याएको छ ।

शिव गाउँले नै पत्रकारका तालिमहरुमा मजाक गर्नुहुन्थ्यो, ‘वरिष्ठ पत्रकार भएपछि समाचार कम लेख्न प¥यो, जति कम समाचार लेख्यो उत वरिष्ठ पत्रकार भइने भयो ।’ त्यसैले अहिले चोकमा वरिष्ठ पत्रकार धेरै र पत्रिका, टिभी, अनलाइन, रेडियोमा ‘तानतुन र चोरचार’का समाचारको बाढी छ । अनि कतै उल्लेख नभएको वरिष्ठ पत्रकार धेरै छन् । वकिलले वरिष्ठ हुन जाँच दिनु पर्छ । हवल्दारले वरिष्ठ हुन काम गर्नु पर्छ, पत्रकारले समाचार लेख्न छाडेपछि वरिष्ठ भइन्छ ! यस्तो बेला लेख्ने, प्रश्न गर्न सक्ने पत्रकारको उत्पादन हाम्रो चुनौती हो । अर्कातिर लेखेर पनि बाँच्न सकिन्छ भनेर देशमै दुःख खेपिरहेका अब्बल पत्रकारहरुलाई जोगाउनु पर्ने अवस्था छ ।

र, नलुकाइ भनौँ । यसपटक पत्रकारहरुलाई भोट हाल्न पार्टीहरुले उर्दी गरे । होइन, पहिला त फलानालाई टिकट देऊ भनेर पार्टीका मुखियाहरुले नै संगठनका मुखियाहरुलाई निर्देशन गरे । पत्रकारहले नमान्लान् भनेर पार्टीहरुले यसपटक लेटरप्याडमै ह्वीप जारी गरे । यस्तै हुलियामा हाम्रो पत्रकारिता चलिरह्यो भने ३ वर्षपछि भोट पनि संसदमा जस्तै हुन बेर छैन ।

पार्टीले ह्वीप जारी गरेर हाम्रो यति भोट फलानालाई भन्दै सबै सदस्य गनेर जितहारको खेल भयो भने हाम्रो प्रश्न सोध्ने अधिकार जीवित रहला ? के हामी आफ्नो विवेकको मत प्रयोग गर्न सक्छौँ । कुनै पार्टीको आस्था राख्नु र चुनावमा पार्टीको झोलेलाई मात्र मतदान गर्ने बाध्यता बनाउनु फरक हो भनेर हामी संघसंगठन चलाउनेहरुले पनि सोच्ने बेला भएको छ । यसपटक नेताहरुको फोन तारन्तार आएपछि यस्तो अनुभूति भयो कि, संगठन बनाउने, चलाउने भन्दा नेताको घर गएर टिकट माग्ने काम सजिलो हो ।

यसले समय बचत हुन्छ, प्रश्न सोध्ने अधिकार सत्यानाश हुन्छ । बाँकी यहाँहरुको मर्जी, जित्नेलाई बधाई, टिक्नेलाई सहानुभूति । तर पत्रकारिता पार्टीको केन्द्रीय समितिजस्तो होइन, समावेशी समेट्ने । यो दिमागको काम हो । दिमाग चल्नेहरुको पेशा हो । समाचार सामग्रीमा समावेशिता चाहिन्छ, पत्रकारहरु चैँ दिमाग चल्ने नै हुनुपर्छ, जुन समाज, धर्म, वर्ग, सम्प्रदाय, लिंग, पार्टीको आस्था भए पनि ।
(एलन जनता टेलिभिजनका प्रधानसम्पादक हुन्)

तपाईको बिचार