उपनिर्वाचन- ओखलढुङ्गाको मोलुङमा कांग्रेस पृष्ठभूमिका नेता रास्वपाको उम्मेदवार भएपछि एमाले उत्साही

उपनिर्वाचन- ओखलढुङ्गाको मोलुङमा कांग्रेस पृष्ठभूमिका नेता रास्वपाको उम्मेदवार भएपछि एमाले उत्साही

637

ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिकाको वडा नं ५ मा हुने उपनिर्वाचन यस पटक रोचक बन्दै गएको छ। स्थानीय तहको उपनिर्वाचन अन्तरगत यस अघि कांग्रेस र एमालेबीच सिधै प्रतिस्पर्धा हुने यस वडामा यस पटक रास्वपाको चुनावमा उदय भएपछि यसरी थप रोचक बनेको हो।

वडाबाट निर्वाचित गोपी कार्कीको केही महिना अघि निधन भएपछि यस वडामा उपनिर्वाचन हुन लागेको हो। गत निर्वाचनमा यस वडामा एमाले कांग्रेस उम्मेदवारसँग १४ मतले पराजित भएको थियो। काँग्रेसका उम्मेदवार गोपी कार्कीले ३ सय ८४ मत पाउँदा एमालेका गोपाल नेपालले ३ सय ७० मत प्राप्त गरेका थिए।

एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवारको गृह वडा रहेको यस वडामा विगतका दुई चुनावमा काँग्रेसले एमालेलाई यसरी झिनो मतान्तरले हराएको थियो।

यस अघि जस्तो सिधै दुई पक्षबिच मात्र प्रतिस्पर्धा नहुने भएपछि काँग्रेसलाई तनाव भएको छ। यस वडामा रास्वपाले यस अघि कांग्रेस पृष्ठभूमि भएका विष्णु पोखरेललाई उम्मेदवार बनाएपछि पहिला भन्दा कांग्रेस कमजोर भएको बताइएको छ।

कांग्रेसमा राम्रो पृष्ठभूमि भएका घनश्याम दाहाललाई उम्मेदवार बनाएको छ। उनी यस अघि गाँउविकास समितिका अध्यक्ष बनिसकेका नेता हुन् । काँग्रेसले यस पटक उनको राजनीतिक दाउ समेत जोखिममा मोलेर उम्मेदवार बनाएको छ। उनी यस पटक पराजित भएको खण्डमा उनको राजनीति समेत निकै पछाडि पर्ने स्थानीय काँग्रेसको बुझाई छ ।

एमालेले भने सोझा र इमानदार छविका गङ्गाबहादुर तामाङलाई उम्मेदवार बनाएको छ। उनी कुनै विवादमा परेका नेता होइनन् । सोझा र इमानदार तामाङले यस पटक बाजी मार्नेमा एमाले समर्थक नेता तथा कार्यकर्ताहरू ढुक्क देखिएका छन् ।

रास्वपाले यस वडामा यस अघि काँग्रेसको गढ मानिएको केउरिनी , बडहरेबाट रास्वपाले धेरै मत तान्ने अनुमान गरिएको छ।

यस पटक नेकपा एकीकृत समाजवादीले उम्मेदवार उठाएको छैन। गएको चुनावमा सो पार्टीले यस वडामा ३५ मत प्राप्त गरेको थियो। माओवादीले भने एकीकृत समाजवादीको भन्दा कम ३० मत प्राप्त गरेको थियो।

तपाईको बिचार