काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिरु १६ गते हुने स्थानीय तहको उपनिर्वाचन प्रयोजनका लागि १० जना नेताहरूलाई आवश्यक समन्वय र सहजीकरण गर्ने जिम्मेवारी दिएको छ ।
महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिले १० जना नेताहरूलाई प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक समन्वय र सहजीकरणको जिम्मा दिएको हो। महामन्त्री शर्मा नेतृत्वमा सानेपामा बुधबार बसेको बैठकले उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन सम्पूर्ण एकता, सालिनता र सक्रियताका साथ अघि बढ्ने निर्णय पनि गरेको छ।
जस अनुसार बागमती प्रदेशमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ , कोशी प्रदेशमा सहमहामन्त्री भीष्मराज आङ्दम्बे, मधेस प्रदेशमा सहमहामन्त्री महेन्द्र यादव , कर्णाली र गण्डकी प्रदेशमा सहमहामन्त्री जीवन परियार र केन्द्रीय सदस्य एनपी साउदले सुदूरपश्चिम प्रदेश कार्यसमितिसँग आवश्यक समन्वय र सहजीकरण गर्नेछन्।
प्रवक्ता प्रकाशशरण महतले अन्तर पार्टी समन्वय गर्नेछन् भने केन्द्रीय सदस्य पुष्पा भुसालले लुम्बिनी प्रदेश एवं निर्वाचन आयोग समन्वय गर्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
केन्द्रीय सदस्य मीन विश्वकर्माले प्रचार प्रसार संयोजन, केन्द्रीय सदस्य मधु आचार्यले स्थानीय तह समन्वय र केन्द्रीय सदस्य नानु बास्तोलाले सचिवालय व्यवस्थापनको जिम्मेवारी पाएकी छन्।
मंसिर १६ गते स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुँदैछ। कांग्रेसले उम्मेदवारहरू सिफारिस गर्न सुरू गरिसकेको छ।
जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उपनिर्वाचन हुनेछ।
तपाईको बिचार