सरकारले राजनीतिक प्रतिशोध साधेको भन्दै माइतीघरमा उत्रिए रास्वपा नेता कार्यकर्ता 

सरकारले राजनीतिक प्रतिशोध साधेको भन्दै माइतीघरमा उत्रिए रास्वपा नेता कार्यकर्ता 

677

काठमाडौं  रवि लामिछानेमाथि अनुसन्धान गर्न ७ दिन म्याद थपिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका  कार्यकर्ताहरूले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् ।

सडक प्रदर्शन गरेर लामिछानेलाई छुटाउने प्रयास गरेको रास्वपाले पोखरामा स्थानीय जनताको साथ पाउन सकेको थिएन । स्थानीयको सहभागिता नभएपछि रास्वपाका नेताहरुले घरदैलो समेत गरेर भिड जम्मा गर्ने प्रयास गरेका थिए । तर त्यो पनि असफल भएपछि अब उनीहरुले काठमाडौँमा प्रदर्शन गर्ने निर्णय गरेका थिए ।

पार्टीका सभापति लामिछानेलाई राजनीतिक प्रतिशोधपूर्ण व्यवहार गरेको भन्दै उनीहरुले प्रदर्शन गरेका छन् । रास्वपाले केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक प्रतिशोध साधेको भन्दै माइतीघरमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले   ‘ओइ सरकार ओई यति ओम्नि खोई ?’ ओइ सरकार ओई गिरीबन्धु खोई ? ‘तानाशाही पाराले दुःख पायो साराले’, ‘सहकारी पीडितको एउटै माग बचत रकम फिर्ता गर’, ‘सत्ताको दुरुपयोग बन्द गर’, ‘सरकार, दम्भ नदेखाऊ नेपाली जनता जिउँदै छन्’, ‘८८ अर्ब फिर्ता गर’, ‘सत्य कहिल्यै ढल्दैन’, ‘ ओली तेरो पाराले दुख पाए साराले ’,‘ सहकारी पीडितलाई न्याय दे’ , ‘राजनीतिक प्रतिशोध बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका रवि हाल कास्की प्रहरीको हिरासतमा छन् । पहिले ६ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालत कास्कीले  थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

रास्वपाको ब्यानर र झण्डा विना स्वतन्त्र समर्थन जुटाउने उद्देश्यले सञ्चालित रास्वपाको सडक आन्दोलन रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारीसहित नेताहरूको अगुवाइमा प्रदर्शन भएको हो । बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपाका नेताहरूले अब काठमाडौंकेन्द्रित आन्दोलन गर्ने बताएका थिए।

तपाईको बिचार

सम्बन्धित खबर