पाँचथर । गत असोज ११ र १२ गतेको भारी वर्षापछि आएको बाढी र पहिरोले पाँचथर जिल्लाका २१ वटा विद्यालयमा क्षति पुगेको छ । पहिरोले २१ मध्ये ८ वटा विद्यालय उच्च जोखिममा भएको शिक्षा तथा समन्वय एकाइ पाँचथरले सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख छ ।
जसमध्येका ८ वटा विद्यालयहरूमा अझै पठन पाठन हुन नसकेको बताईएको छ । क्षतिग्रस्त मध्ये ८ वटा विद्यालय भवन निर्माण नभएसम्म पठनपाठन गर्न सकिने अवस्था नभएको शिक्षा विकास तथा समन्वय इकाई पाँचथरका प्रमुख युगमणि सवेहाङले बताए । सवेहाङका अनुसार सबैभन्दा धेरै क्षति तुम्बेवा गाउँपालिकाका विद्यालयहरुमा पुगेको छ ।
शिक्षा विकास तथा समन्वय इकाइको तथ्याङ्क अनुसार कुम्मायकको सिंहबाहिनी आवि, फिदिम ९ को लुम्फावुङ आवि, फिदिम ७ को कालिका आवि, फालेलुङ ३ को सिंहकाली आवि, तुम्वेवा ४ को सुनगाभा आवि, तुम्वेवा १ को सिंहवाहिनी आवि, कुम्मायक १ को खाल्डे आवि, फाल्गुनन्द ४ को पैयाबोटे आवि, फिदिम १२को युवराज आवि, फिदिम ६ को काफलबोटे आवि, फालेलुङ २ को मोतीराम मावि, फालेलुङ ५ को सिंहबाहिनी आवि, फालेलुङ ६ को दीपज्योति आवि, फालेलुङ ४ को बाह्रबिसे आवि, फालेलुङ ४ कै मेमेङ माविमा क्षति पुर्याएको छ ।
यस्तै तुम्वेवा ३ को इन्द्रायणी मावि, तुम्वेवा २ को त्रिवेणी आवि, तुम्वेवा ४ को धुवाखोला आवि, तुम्वेवा १ को सरस्वती मावि, तुम्वेवा ३ को पञ्चमी आवि र तुम्वेवा ४ को अग्निका सिं आविमा बाढी पहिरोले क्षति पुर्याएको हो ।
भारी वर्षापछि आएको बाढी–पहिरोमा परी देशभर १७ विद्यार्थीको मृत्यु भएको र २ सय सामुदायिक , ५० संस्थागत विद्यालय गरी २ सय ५० विद्यालयमा क्षति पुगेको सबै विद्यालयमा गरी करिब २ लाख ५० हजार विद्यार्थीको पठनपाठन प्रभवित भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
बुटवलको कालिका मानवज्ञान माविका दिपेश भट्टराई र दीपिका भट्टराईसहित उनीहरूकी आमाको झ्याप्ले खोलाको पहिरोमा परी मृत्यु भएको छ। त्यस्तै, मकवानपुरको इन्द्रसरोवर पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ। त्यस्तै, बनेपाको आशापुरेश्वर आधारभूत विद्यालयमा अध्ययनरत १ छात्राको घरमा सुतिरहेको समयमा पहिरोमा पुरिएर मृत्यु भएको मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख छ।
काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकास्थित कुशेश्वर माविमा अध्ययनरत १ जना र सर्वोद्वार माविका २ जना विद्यार्थीको पहिरोमा पुरिएर परिवारसहित मृत्यु भएको छ । काभ्रेपलाञ्चोककै पनौती नगरपालिकास्थित श्रीराम माविमा कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीको समेत पहिरोमा परी मृत्यु भएको मन्त्रालयले जनाएको छ।
ललितपुरको कोन्ज्योसोम गाउँपालिकास्थित गोठभन्ज्याङ माविमा अध्ययनरत २ जना विद्यार्थीको मृत्यु भएको छ। भक्तपुरको सूर्यविनायक नरगपालिकास्थित जोरपाटी माविका एक विद्यार्थीको पहिरोमा परी आफ्नै घरमा मृत्यु भएको छ।
दोलखाको भीमेश्वर नगरपालिकास्थित अल्पाइन स्कुलमा अध्ययनरत एक विद्यार्थीको घर भत्किँदा मृत्यु भएको विवरणमा उल्लेख छ । बाढीपहिरो तथा डुबानका कारण कोशी प्रदेशको पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, खोटाङ, मधेसको सप्तरी, सिरहा, सर्लाही र पर्सा, वागमतीको मकवानपुर, रसुवा, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र धादिङ, गण्डकीको कास्की, म्याग्दी र वाग्लुङ, लुम्बिनीको गुल्मी, रूपन्देही, दाङ र नवलपरासी पश्चिम, कर्णालीको हुम्ला, जाजरकोट र सुर्खेत, र सुदूरपश्चिमको अछाम र बझाङ जिल्लामा गरी २ सय सामुदायिक र करिब ५० संस्थागत विद्यालयमा क्षति पुगेको मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
तपाईको बिचार