एमालेको बारेमा चिन्ता नगर्न अन्य राजनीतिक दललाई महासचिव पोखरेलको आग्रह

एमालेको बारेमा चिन्ता नगर्न अन्य राजनीतिक दललाई महासचिव पोखरेलको आग्रह

775

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा (एमाले) को बारेमा चिन्ता गर्ने अन्य राजनीतिक दललाई एमालेको बारेमा चिन्ता नगर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत पोखरेलले फरक पार्टीका नेता, कार्यकर्तालाई आफ्नै पार्टीको चिन्ता गर्न आग्रह गरेका हुन् ।

‘यति वेला फरक पार्टीका नेता र कार्यकर्ताहरूले नेकपा (एमाले) को भविष्यका बारेमा चिन्ता गर्दै सामाजिक सञ्जालमा अनेकन् सुझाव दिइरहेका छन् र उसले गरेका निर्णयहरूको कटु आलोचना गरिरहेका छन्, राजनीति गर्नेहरूले आ-आफ्नो पार्टी राम्रो बनाउन लागे त अरूका बारेमा चिन्ता गर्नै पर्दैन नि’, पोखरेलले लेखेका छन् ।

एमालेलाई कस्तो बनाउने भन्ने कुरा एमाले जनलाई नै छोडिदिन उनले आग्रह गरे । ‘जनता के चाहन्छन् ? र राष्ट्रको आवश्यकता के हो ? नेकपा (एमाले) लाई राम्ररी थाह छ, जनस्तरका सुझाव ग्रहण गर्नका लागि नेकपा (एमाले) ले मिसन ग्रास रुट र मध्य पहाडी लोक मार्ग आधारित झुला घाट चिवाभज्याङ यात्रा गरेकै हो, भविष्यमा पनि जनस्तरमा पुग्ने योजना बनाएकै छ’, उनले लेखेका छन् ।

जनताका बिचमा पुगेर तथा जनताको सुझाव ग्रहण गरेर नै नेकपा (एमाले) आजको कुरामा मात्र नअल्झेर भविष्यको कुरामा केन्द्रित रहेको उनले स्पष्ट पारेका छन् ।

तपाईको बिचार