मैले कुनै अपराध गरेको छैन राज्यले दादागिरी गर्‍यो, डटेर सामना गरौं - रवि लामिछाने

मैले कुनै अपराध गरेको छैन राज्यले दादागिरी गर्‍यो, डटेर सामना गरौं – रवि लामिछाने

963

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राज्यले आफूमाथि दादागिरी गरेकोले डटेर सामना गर्न अपिल गरेका छन्।

सहकारी ठगी र संगठित अपराधको आरोपमा लामिछानेमाथि शुक्रबार कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। लगत्तै पार्टी केन्द्रीय कार्यालय चस्मतिमा प्रहरीहरू लामिछानेलाई पक्राउ गर्न पुगेका थिए।

पक्राउ पर्नुअघि लामिछानेले पार्टी कार्यालयमा भेला भएका नेता कार्यकर्तालाई सम्बोधन गर्दै राज्यले दादागिरी देखाएकोले डटेर सामना गर्न अपिल गरेका छन्।

‘देशले आशा र भरोसा गरेको थियो त्यसमाथि प्रहार भएको छ। यो प्रहारलाई हामी सामना गर्नेछौं। म कुनै पनि किसिमको न्यायिक जाँच दिनको लागि अदालती प्रक्रियालाई सम्मान गर्न चाहन्छु,’ उनले भने, ‘तर यो राजनीतिक पूर्वाग्रहमा खुलेर लड्न अपिल गर्न चाहन्छु।’

रास्वपा फुटाउने र आफूलाई चुनाव नै लड्न नदिने गरी प्रतिशोध साँध्न खोजिएको उनको भनाइ थियो। ‘मैले कुनै पनि अपराध गरेको छैन, राज्यले सम्पूर्ण स्रोत र शक्ति लगाएर यो कार्य गरेको छ यसलाई नेपाली नागरिकले हेरेका छन्,’ उनले भने, ‘राज्यले गरेको यो दादागिरीलाई डटेर सामना गर्न यहाँहरूलाई साहस मिलोस् भन्न चाहन्छु।’

तपाईको बिचार