काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति गौशाला धर्मशालाको काम रोक्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका छन् ।
पशुपति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले बुधबार कोषलाई पत्र पठाउँदै पशुपति गौशाला धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिएका हुन् । ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै पत्राचार गरिएको मन्त्रालयले जनाएको छ ।
धर्मशालाको व्यवस्थापन जिम्मेवारी काठमाडौँ महानगरपालिकालाई दिने ७ बुँदे समझदारी भएको थियो । सोहीअनुसार काठमाडौं महानगरपालिकाले आफ्नो बोर्ड राखेर व्यवस्थापनको काम सुरु गरिसकेको छ । तर, यता मारवाडी सेवा समितिले विरोध गर्दै आएको थियो । विवाद बढ्दै गएपछि मन्त्रीले हस्तक्षेप गर्दै गौशाला धर्मशालाको व्यवस्थापन काठमाडौँ महानगरपालिकालाई दिने निर्णय कार्यान्वयन अर्को बैठकबाट निक्यौल नभएसम्म स्थगन गर्न निर्देशन दिएका हुन् ।
परिषद् बैठकबाट भएको उक्त निर्णय कार्यान्वयनको सन्दर्भमा त्यहाँबाट गरिएका कार्यहरू परिषद्को अर्को बैठकबाट निक्यौल नभएसम्म स्थगन गर्न गराउनुहुन र त्यहाँबाट भए गरेका कार्यहरूको विषयमा छलफल गर्न मिति २०८१ कार्तिक ४ गते आइतबार बिहान ९ बजे पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक यस मन्त्रालयको बैठक कक्षमा बस्ने गरी बोलाउनुहुन पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को दफा ११ को उपदफा ११।१ बमोजिम परिषद्का अध्यक्ष एवं माननीय मन्त्रीज्यूबाट निर्देशन भएको व्यहोरा जानकारी एवं आवश्यक कार्यार्थ अनुरोध छ’, कोषलाई पठाइएको पत्रमा भनिएको छ ।
तपाईको बिचार