बन्दिपुरे माया हाम्रो माया, नहोस् घाम छाँया

बन्दिपुरे माया हाम्रो माया, नहोस् घाम छाँया

1141

काठमाण्डौंभर्खरै नेपालीहरुको महान चाड बडादशैं सकियो । दशैं मनाउन घर गएकाहरूले  बन्दीपुरे माया, हाम्रो माया नहोस् घाम छाया भन्ने लोक गीतमा खुबै कम्मर मर्काएर नाचे । जति यो गीतको शब्द मिठो छ त्यतिकै यसको भाव पनि मिठो छ  । अहिले यो लोकभाकाको शब्दले नेपाली राजनीतिक आकाशमा पनि कतै कतै मेल खाने अवस्था देखिन्छ ।

अहिले नेपाली राजनीतिक वृत्तमा सरकार परिवर्तनको हल्लाले राजनीति नै तरङ्गित बनाईरहेको छ । दशैं लगत्तै सरकार परिवर्तन हुने हल्ला भएपछि त्यसको एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक समारोहमै त्यो निराधार हल्ला भएको स्पष्टोक्ति दिनुपर्‍यो । हिजो नेपाल प्रहरीको स्थापना दिवसको अवसरमा प्रहरी मुख्यालय नक्सालमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले सरकार परिवर्तनको हल्ला निराधार रहेको बताईरहँदा कतै नेपाली रोजनीतिमा फेरी छुट्टै खालको खिचडी त तयार हुँदैछैन भन्ने आशंका उब्जिएको छ ।

हुन पनि नेपाली राजनीतिमा कहिले के हुन्छ भन्न सक्ने अवस्था छैन । यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकार ढलेको स्वयम् प्रचण्डलाई पत्तो भएन । मध्यरातमा एमाले अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको सहमतिको विषयमा प्रचण्डले संचारमाध्यममा आएपछि मात्र पत्तो पाउनुले पनि नेपाली राजनीतिक समिकरण कतिखेर भत्किन्छ र कतिखेर बन्छ भन्न सक्ने अवस्था रहेन ।

अहिले प्रधानमन्त्री ओलीले सार्वजनिक समारोहमै दिनुपरेको यस्तो अभिव्यक्तिले पनि राजनीतिक वृत्तमा कतै फेरी कालो बादल मडारिन थाहेको त हैन ? भन्ने प्रश्न उठ्नु स्वभाविक हो । ओलीले अबको नौ महिनापछि आफूले कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्ने आश्वासन दिन पर्नुपर्ने अवस्था नै थिएन । किनभने गएको असार १७ गतेको मध्यराति नै उनीहरुबीच आलोपालो सरकार चलाउने विषयमा लिखित सहमति भएको थियो ।

सत्ताको बागडोर सम्हालिरहेका ओलीले यसरी सार्वजनिक मञ्चमै यस्ता अभिव्यक्ति दिएपछि सत्ता समिकरणमा केही खटपट भएको अनुमान राजनीतिक विश्लेषकहरुले गर्न थालेका छन् । राजनीतिमा असंभव भन्ने कुरा केही छैन भन्ने कुरा ओली–देउवाको अर्थात एमाले–कांग्रेसको गठबन्धनले नै देखाएको छ । राजनीतक विचारका हिसाबले एमाले र कांग्रेसको नीति, सिद्धान्त र विचार केही पनि मिल्दैन । यही नमिलेको दुई ध्रुव एक भएर अहिले सरकार संचालन भएको अवस्था छ । यो अवस्था आउनुलाई ओली र देउवाबीच सहमति भएकै दिनदेखि विभिन्न खालको टिकाटिप्प्णी शुरु भएको थियो ।

यही आधारलाई टेकेर हेर्ने हो भने अहिले बन्दिपुरे माया, हाम्रो माया नहोस् घामछायाँ बोलको गीतले कतै नेपाली राजनीति क्षेत्रमा पनि छोएको त हैन ? भन्ने आम प्रश्न उठ्छ । माया लाउने र घामछायाँमा हराउने प्रवृत्तिने नेपालको राजनीतिलाई कहिलेसम्म दुःख दिने हो त्यो भविष्यले नै बताउला  । 

तपाईको बिचार