पूर्वराजा ज्ञानेन्द्रले दशैंको शुभकामना दिँदै भने- देशको उन्नति बाहेक हाम्रो कुनै उद्देश्य हुनुहुन्न

 पूर्वराजा ज्ञानेन्द्रले दशैंको शुभकामना दिँदै भने- देशको उन्नति बाहेक हाम्रो कुनै उद्देश्य हुनुहुन्न

697

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हाम्रो उद्धेश्य हाम्रो देश र हाम्रो पूरै देशको उन्नति बाहेक अरु केही हुन नहुने बताएका छन् ।

बडा दशैंको शुभकामना ब्यक्त गर्दै उनले भगवानको आशीर्वादले यो देश आफै उत्पीडन र आतंकको नभई बुद्धि र भाइचाराको स्मारक बन्नुपर्ने बताएका हुन् ।

उनले राष्ट्रियता धर्मराएको, शान्ति र अमनचैन हराएको र फेरि पनि विद्रोहको भुसको आगो भित्रभित्रै सल्कँदै गएको अवस्थाले कसैको हित नहुने बताएका छन् ।

शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले नारायणहिटी छाडेको दुई दशक पूरा हुनै लाग्दा पनि देशमा नै हर्षका साथ रहने जनताको चाहना पूरा हुन नसकेको बताए ।

उनले सन्देशमा भनेका छन्, ‘नेपाल अहिले अत्यन्तै असहज अवस्थामा छ । निरन्तरताको परनिर्भरता र ऋणको भारले थिचिएको छ । गाउँहरू युवा शक्ति विहीन बन्दै गइरहेका छन् । युवा शक्तिले कमाउने र रमाउने वातावरण बन्न सकेको छैन । युवालाई स्वदेशमा नै रोजगारी सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न‍े विकल्प प्रस्तुत गर्न नसक्नुको परिणाम आज मुलुकले कहालीलाग्दो अवस्था भोग्दैछ ।’

उनले प्रतिकार, प्रतिवाद, दमन र नियन्त्रणको कार्यविधि भन्दा सम्याउने, सुल्झाउने, सच्याउने र आफ्नै राष्ट्रिय आदर्श बमोजिम समझदारीका साथ अघि बढ्ने अटुट प्रयत्न हुनुपर्दछ भनेका छन् ।

विभिन्न राजनीतिक दलका नेताहरुलाई सम्झाउने क्रममा पूर्वराजाले भने, ‘नेपाल हाम्रो हो, हामी नेपाली हौं र नेपालको आफ्नो मौलिकपन नै हाम्रो अस्तित्व हो भन्नेकुरा हामीले बुझ्नै पर्ने हुन्छ ।’

उनले विजया दशमीको अवसरमा देश र विदेशमा भएका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र सम्वृद्धिको लागि शुभकामना ब्यक्त गरेका छन् ।

उनले जारी गरेको शुभकामनामा भनेका छन्, ‘श्री नवदूर्गा भवानीले हाम्रा सबै आसुरी र स्वार्थी व्यवहारको विनाश गरी हामीलाई हाम्रो सनातनिक सत्य पथतर्फ अभिप्रेरित गरुन् ।’

तपाईको बिचार