राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता - रोजगारी र सुशासनमा दलहरु मिलेर काम गर्न राष्ट्रपतिको सुझाव

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता – रोजगारी र सुशासनमा दलहरु मिलेर काम गर्न राष्ट्रपतिको सुझाव

893

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सोमबार भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीलत निवासमा भएको उक्त भेटमा राष्ट्रपति पौडेलले शासनसत्तामा बस्नेहरुका लागि अहिले देखिएको सुशासन, रोजगारीको चुनौतीको समाधान गरेर युवाहरुलाई देशमै बस्ने अवस्था सृजना गर्न सुझाव दिए ।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर स्वदेश फर्केपछि सोबारे जानकारी दिन शीतल निवास पुग्नुभएका प्रधानमन्त्री ओलीलाई राष्ट्रपति पौडेलले राजनीतिक दलहरु मिलेर मुलुकमा देखिएका समस्याहरुको समाधान खोज्न आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

गाउँगाउँमा आधारभूत सुविधाहरु पुगेर बस्ने अवस्था सृजना भएपनि रोजगारी र आम्दानी नभएकाले मानिसहरु गाउँ छोडिरहेको हुनाले त्यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने उनले आवश्यकता औल्याए । राष्ट्रपति पौडेलले हालै आएको बाढीपहिरोबाट प्रभावितहरुको राहत तथा पुननिर्माणका कामलाई तिव्रता दिन सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

भेटमा प्रधानमन्त्री ओलीले अहिलेको देखिएको जटिलतालाई मुक्त गर्दै सुशासन कायम गरेर लोकतन्त्रलाई अझै सुदृढ बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले दुइवटा ठूला दल मिलेर वनेको वर्तमान सरकारले सुशासन र विकासमा आफूलाई केन्द्रित गरेको पनि उल्लेख गरे ।
सो क्रममा प्रधानन्त्री ओलीले संयुक्त राष्ट्र संघ महासभाका सन्दर्भमा भएको भ्रमण अत्यन्त फलदायी र प्रभावकारी भएको राष्ट्रपति पौडेलेलाई जानकारी गराएका थिए । महासभामा नेपालले समुद्रसतह उठेको देखि हिमाल जोगाउने विषयलाई नयाँ तर्कका साथ उठाएर सबैको ध्यानाकर्षण गराउन सकिएको पनि बताए । प्रधानमन्त्री ओलीले भ्रमणका सन्दर्भमा विभिन्न महत्वपूर्ण साइडलाइन वार्ता गरेको पनि जानकारी गराए । भेटमा परराष्ट्रमन्त्री आरजु राणालगायतको पनि सहभागीता थियो ।

तपाईको बिचार