विपत्तिको बेलामा विरोधका लागि विरोध नगरौं : प्रधानमन्त्री ओली

विपत्तिको बेलामा विरोधका लागि विरोध नगरौं : प्रधानमन्त्री ओली

875

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विपत्तिको बेला विरोधका लागि विरोध नगरी उद्धार, राहत र पुनर्निर्माणमा तीव्रता दिइने बताएका छन् ।

त्रिभुवन विमानस्थलमा प्रधानमन्त्रीले रेड अलर्ट जारी गरे पनि पहिरो कहाँ कहाँ जान्छ भनेर पूर्वानुमान नभएको बताए । उनले भने, ‘काठमाडौंमा यति डुबान होला भन्ने कल्पना थिएन।’

उनले विपदको संवेदनशील बेलामा विरोध गरेर परिस्थिति झन् बिगार्न खोजिएको भन्दै असन्तोष जनाए । प्रधानमन्त्री ओलीले भने, ‘संवेदनशील बेलामा विरोधका लागि विरोध नगरौं। सरकार छ । यसले परिस्थिति सम्हाल्छ । गरिरहेको पनि छ ।’

‘सरकार यहाँहरूकै हो । यस विपद्को घडीमा सक्दो सहयोग र राहत पुर्‍याउने कार्यमा सरकारले कुनै कसर बाँकी राख्ने छैन भन्ने विश्वास दिलाउन चाहन्छु’, उनले भने ।

उनले बाढी आउने कुरालाई रोक्न नसकिने बताए । ‘बाढी र पहिरो आउने कुरा पूर्वसूचना गरेर जाँदैन । गएपछि क्षति पुर्‍याउने नै हो । सरकारले राहत र उद्धारको काम गरेको छ । मैले बाहिर हुँदा पनि जानकारी लिएको छु । सरकारले आफ्नो बुताअनुसार गरेको छ । विरोधका लागि विरोध होइन । सबै मिलेर अघि बढ्नु आवश्यक हुन्छ ।’

उनले सरकारले उद्धार, राहत र पुनर्निर्माणमा अब प्रभावकारी बनाउने बताए ।

ओलीले सञ्चारकर्मीसँग बोले लगत्तै जारी प्रेस वक्तव्यमा विपद्का मृतकप्रति श्रद्धान्जली व्यक्त गरिएको छ । उनले घाइतेको स्वास्थ्यलाभ कामना गरेका छन् ।

ओलीले सरकारी निकाय र जनस्तरबाट उद्धार कार्य जारी रहेको भन्दै धैर्य गर्न आग्रह पनि गरेका छन् । उनले सरकारले सहायता र राहतमा कसर बाँकी नराख्ने प्रतिबद्धता पनि जनाए ।

वक्तव्यमा ओलीले १० दिने भ्रमण क्रममा गरेका भेटवार्ता र तिनको उपलब्धिबारे चर्चा गरिएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर