प्रस्तुत प्रतिवेदन र प्रस्ताव उपर समूहगत छलफलमा रास्वपा

प्रस्तुत प्रतिवेदन र प्रस्ताव उपर समूहगत छलफलमा रास्वपा

771

काठमाडौँ । मंगलवारदेखि शुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेला काठमाडौँ स्थित प्रज्ञा भवनमा जारी छ । भेलामा देशभरका १ हजार ५ सय बढी प्रतिनिधिहरू उपस्थित छन् ।

मंगलवार भेलामा उपसभापति डा. स्वर्णिम वाग्लेले नीति विचार प्रतिवेदन, कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले विधान संशोधनको प्रस्ताव पेस गरेका थिए । प्रदेश समितिका संयोजकहरूले रिपोर्टिङ गरेका थिए । साथै मंगलवार नै कोषाध्यक्ष लिमा अधिकारी र लेखा आयोगका प्रमुख अभिषेक घिमिरेले आर्थिक प्रतिवेदन पेस गरेका थिए । अनुशासन आयोगका सभापति भरतमणि देवकोटाले आयोगको प्रतिवेदन समेत पेस गरेका थिए ।

आज भने प्रस्तुत सबै प्रतिवेदन र प्रस्तावउपर समूहगत छलफल हुनेछ । आज नै दलका नेताहरूले प्रश्नको उत्तर दिने र सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ । रास्वपाले एक वर्षमा कुल ३ करोड ४० लाख भन्दा बढी रकम आम्दानी गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा सदस्यता शुल्क, चन्दा तथा सहयोग, प्रकाशन बिक्री, ब्याज आय र अन्य गरी सो पार्टीले ३ करोड ४० लाख ३१ हजार ६ सय ३४ रुपैयाँ आम्दानी गरेको हो ।

मंगलबार कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन पेस गर्दै सो जानकारी दिएकी हुन् । उनका अनुसार सदस्यता शुल्कबाट १ करोड ५१ लाख ५४ हजार ५ सय २ रुपैयाँ, चन्दाबाट १ करोड ११ लाख ३४ हजार ९ सय ९, लेभीबाट ७७ लाख १८ हजार ३ सय ३३, ब्याज आयबाट १६ हजार एक सय ८९ र अन्य शीर्षकबाट ७ हजार ७ सय रुपैयाँ आम्दानी भएको जनाएको थियो ।

त्यस्तै पार्टी सञ्चालन गर्ने क्रममा साढे ५ करोड रुपैयाँ भन्दा बढी खर्च गरेको छ । भेलामा पेस गरिएको आय-व्ययको विवरणमा एक वर्षमा पार्टीले ५ करोड ६४ लाख ८१ हजार ७ सय २३ रुपैयाँ खर्च गरेको उल्लेख छ ।

जसअनुसार आर्थिक वर्ष २०८०/०८१ मा कार्यालय सञ्चालन खर्च ३ करोड ४२ लाख ३९ हजार उल्लेख गरिएको छ । यस्तै पुँजीगत खर्च २ करोड ७५ लाख, निर्वाचन खर्च १४ लाख ९० हजार भन्दा बढी देखाइएको छ । प्रतिवेदनमा चिया तथा खाजा शीर्षकमा १६ लाख ७८ हजार ३९६ रुपैयाँ खर्च भएको उल्लेख छ ।

तपाईको बिचार