कुन कुन हुन् स्थानीय तहका रिक्त ४० स्थान, जहाँ हुँदैछ १६ मंसिरमा उपचुनाव

कुन कुन हुन् स्थानीय तहका रिक्त ४० स्थान, जहाँ हुँदैछ १६ मंसिरमा उपचुनाव

739

काठमाडौं । सरकारले स्थानीय तहको उपनिर्वाचन आउँदो मंसिर १६ गते गर्ने भएको छ । निर्वाचन आयोगको सुझावअनुसार सरकारले मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ।

स्थानीय तहमा जिल्ला समन्वय समिति प्रमुख दुई, मेयर र उपमेयर एक-एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्षमा ३० गरी ४० पद खाली छ ।

सरकारले १६ मंसिरमा देशका विभिन्न स्थानीय तहमा रिक्त रहेका स्थानमा निर्वाचन गर्न लागेको हो । ओखलढुंगा र कैलालीमा जिल्ला समन्वय समिति प्रमुख पद रिक्त छन् । क्यान्सर रोगबाट पीडित जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको निधन भएपछि उक्त स्थान रिक्त छ ।

त्यस्तै मिर्गौला रोगबाट पीडित जिसस कैलालीका प्रमुख पदमबहादुर कलेलको  निधन भएपछि त्यहाँ पनि रिक्त छ । उनीहरू दुवै जना नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

त्यस्तै मोरङको ग्रामथान र दैलेखेको महाबु गाउँपालिका अध्यक्षमा पनि उपचुनाव हुँदैछ । ग्रामथानका अध्यक्ष जयप्रकाश गच्छदार र महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङको निधन भएपछि रिक्त पदमा उपचुनाव हुन लागेको हो ।

मिर्गौला रोगबाट पीडित कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको  निधन भएपछि त्यहाँ पनि उपचुनाव हुन लागेको छ । त्यस्तै विभिन्न स्थानीय तहका चार उपाध्यक्ष पद रिक्त छ । जसमा दोलखाको गौरीशंकर गाउँपालिका, हुम्लाको सुर्केगाड, बाजुराको स्वामीकार्तिक खापर, र पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पद खाली छ ।

गौरीशंकरका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयाघातका कारण निधन भएपछि उक्त पद रिक्त छ ।
सर्केगाडका उपाध्यक्ष चन्द्रसिंह कार्कीको गाडी दुर्घटनामा निधन भएपछि त्यहाँ पनि चुनाव हुन लागेको हो । स्वामीकार्तिक खापरका उपाध्यक्ष मैना जोशीको  निधन भएपछि त्यहाँ पनि चुनाव हुन लागेको हो ।

त्यस्तै पुथाउत्तरगंगा गाउँपालिका, रुकुमपूर्वकी उपाध्यक्ष भुपेन्द्रा बुढा मगरको  बागलुङमा भएको गाडी दुर्घटनामा परी निधन भएको थियो । जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको  भूकम्पमा परी मृत्यु भएको थियो ।

यता ३० वडाध्यक्ष पद रिक्त छ । नगरपालिकाका २१ र गाउँपालिकाका ९ गरी ३० वडाअध्यक्षका पद पनि रिक्त छ । चुनाव हुन लागेका धेरैजसो वडामा यसअघि कांग्रेसले जितेको थियो ।

कुन कुन हुन उपचुनाव हुन लागेका वडाहरुः

लागिगुराँस-  ८, मोलुङ गाउँपालिका- ५, त्रियुगा नगरपालिका- १२, बेलका नगरपालिका- ९, डाक्नेश्वरी नगरपालिका- ४, धनुषाधाम नगरपालिका- १, ईश्वनाथ नगरपालिका- ७, राजपुर नगरपालिका- ६, कीर्तिपुर नगरपालिका- १, काठमाडौं महानगर – १६, ककनी गाउँपालिका- २, मुसीकोट नगरपालिका- १, रुन्टीगढी गाउँपालिका- ४, ठाकुरबाबा नगरपालिका- ४, सानीभेरी गाउँपालिका- ५, पूर्व चौकी गाउँपालिका- ६ र भीमदत्त नगरपालिका- ६ रहेका छन् । यी सबै वडामा यसअघि कांग्रेसका जनप्रतिनिधि निर्वाचित भएका थिए ।

कन्काई- ६, गढी गाउँपालिका- ६, गोरखा नगरपालिका- ५, दुल्लु नगरपालिका- १३, त्रिपुरासुन्दरी नगरपालिका- ५, सुर्मा गाउँपालिका- ४ मा एमालेका उम्मेदवार विजयी भएका थिए ।

त्यस्तै रामगोपाल नगरपालिका – २, हेटौंडा- १२, तिलागुफा नगरपालिका- ४, कुसे गाउँपालिका- ७ र दुहुँ गाउँपालिका- ५ मा माओवादीका प्रतिनिधि निर्वाचित थिए । गढीमाई नगरपालिका ६ मा जसपा नेपाल र कीर्तिपुर नगरपालिका ४ मा स्वतन्त्र (कैची)का जनप्रतिनिधि निर्वाचित थिए ।

स्थानीय तह निर्वाचन ऐनले जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, कुनै पनि पालिकाका प्रमुख र उपप्रमुख तथा वडाध्यक्षलगायतको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि रिक्त पदको पूर्ति उपनिर्वाचनद्वारा हुने व्यवस्था गरेको छ ।
सोही व्यवस्थाअनुसार सरकारले निर्बाचनको तयारी गरेको हो । २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो ।

तपाईको बिचार