कांग्रेस र एमालेभित्र ठूला दल मिलेर सरकार बनाउनुपर्छ भन्ने मत बलियो छ : प्रमुख सचेतक लेखक

कांग्रेस र एमालेभित्र ठूला दल मिलेर सरकार बनाउनुपर्छ भन्ने मत बलियो छ : प्रमुख सचेतक लेखक

936

कञ्चनपुर, २४ वैशाख । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबिच अस्थिरताबाट मुलुक जोगाउन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सहमति, सहकार्य र संवाद आवश्यक रहने बताएका छन् ।

नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख सचेतक लेखकले अहिलेको सरकार समीकरणमा एमाले भित्र पनि असन्तुष्टि रहेको उल्लेख गर्दै सत्ता समीकरणबारे आफैँमा विरोधाभास र आशङ्का रहेको धारणा राखे ।

‘नेपाली कांग्रेस र एमालेभित्र ठूला दल मिलेर सरकार बनाउनुपर्छ भन्ने मत बलियो छ’, उनले भने, ‘जनता पनि ठूला दल मिलेर मुलुकलाई सही दिशामा लैजानुपर्छ भन्नेमा छन् ।’ कांग्रेस र एमालेबीचको सत्ता सहकार्य गर्ने विषयमा ठोस कुरो नभएको प्रमुख सचेतक लेखकको भनाइ थियो ।

सरकार सञ्चालनका लागि नभए पनि मुलुकलाई अस्थिरतातर्फ जान नदिन, संविधानको रक्षा गर्न र लोकतन्त्रको सुदृढीकरणका लागि पनि ठूला दलहरुबीच सहकार्य र छलफल आवश्यक हुने प्रमुख सचेतक लेखकको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै सहकारी छानबिनको विषयमा समग्रमा छानबिनको विषयमा सकारात्मक धारणा आएको बताउँदै उनले त्यसका लागि कांग्रेस पनि सकरात्मक रहेको बताए । उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नतामाथि छानबिन हुनुपर्नेमा कांग्रेसको अडान यथावत रहेको बताए ।

‘सहकारीको रकम अवचलन भएकोलगायतको विषय छानबिन गर्ने निकायको जिम्मेवारीमा रहेका पनि आरोपित छन्’, उनले भने, ‘हामीले राजीनामा होइन, छानबिनको माग गरेका हौँ ।’

तपाईको बिचार

सम्बन्धित खबर