काठमाडौँ, ११ फागुन । गैरआवासीय नेपाली संघ(एनआरएनए)को आरके शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ ।
आज बिहान बालुवाटार पुगेर शर्मा नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई भेट्दै गैरआवासीय नागरिकताको अधिकार दिने नियम छिटो ल्याउन र विशेष अदालतको फैसलापछि गैरआवासीय नेपाली संघको भवन सरकारीकरण भएकाले अब सरकारले प्रक्रिया अनुसार लिजमा एनआरएनएलाई नै दिन आग्रह गरेको हो ।
प्रधानमन्त्रीसँगको भेटमा गैरआवासीय नागरिकता पाउने व्यवस्था भएपनि नागरिकता अनुसार पाउनुपर्ने अधिकार नपाएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको अध्यक्ष आरके शर्माले जानकारी दिए । प्रधानमन्त्रीसँग भेटमा एनआरएनएका पूर्व अध्यक्ष कुल आचार्यले गैरआवासीय नागरिकता पाएपछि पाउनुपर्ने अधिकार नपाएको हुँदा विभिन्न समस्या भोग्नु परेको हुँदा यसलाई सहजीकरण गर्न आग्रह गरेका थिए । प्रधानमन्त्रीसँग भेटमा उपाध्यक्ष खगेन्द्र न्यौपाने,उपाध्यक्ष डिबी क्षेत्री,जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट लगायतका अभियन्ता सहभागी थिए ।
तपाईको बिचार