काठमाडौँ, २ फागुन । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मध्यपहाडी लोकमार्गलाई देशको मेरुदण्डको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मुख्यसचिव र मन्त्रालयका सचिवहरुलाई एमालेले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा जनताका माग समेटेको ध्यानाकर्षणपत्रका विषयमा छलफल गर्दै उपाध्यक्ष पौडेलले मध्यपहाडी क्षेत्रमा नै भविष्यको खोजी गर्नुपर्छ भन्ने सन्देश दिनेगरी आगामी नीति तथा कार्यक्रम बनाउनुपर्ने बताएका छन् । उनले मध्यपहाडको विकासको मुद्दालाई सरकारले प्राथमिकता दिनुपर्ने बताए ।
उपाध्यक्ष पौडेलले मध्यपहाडी क्षेत्रको विकासमा सरकारले ल्याउने बजेटमा यो विषयलाई प्राथमिकताका साथ समावेश गर्न माग गरे । उनले उक्त मार्गलाई दोब्बर लेनको बाटोको रुपमा निर्माण गर्ने वातावरण बनाउन आग्रह गरे । उनले यस क्षेत्रमा सिँचाइ, खानेपानी, कृषि, फलफूल क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यक देखिएको बताए । उनले मध्यपहाडी क्षेत्रको समग्र विकासका लागि सडक पूर्वाधार सिँचाइ,खानेपानी,शिक्षा स्वास्थ्य र भौतिक र मानवीय विकासका सबै आधारित भएर माग पत्रमा समावेश गरेको भन्दै सचिवहरुले प्राथमिकता दिन आवश्यक रहेको बताए ।
छलफलमा सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले एमालेले बुझाएको सुझाव कुनै पार्टी विशेष भन्दा पनि समग्र देशको आवश्यकता र मध्यपहाडी क्षेत्र र आसपासका ठाउँहरुको समग्र विषय समावेश भएकाले त्यही अनुसार प्राथमिकता दिएर काम गर्न सचिवहरुलाई निर्देशन दिए ।
तपाईको बिचार