काठमाडौँ, २७ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी क्षेत्रमा अनियमिता र चुहावटको ठूलो समस्या रहेको बताएकी छन् ।
आज नेपाल उद्योग व्यापार महासङ्घ बागमती प्रदेशको दोस्रो साधारणसभाको उद्घाटन गर्दै उनले सरकारी, निजीलगायत सबै क्षेत्रमा सुशासनको प्रत्याभूतिसँगै आर्थिक समृद्धि हासिल गर्न सकिने बताइन् ।
उनले भनिन्, “हामीसँग स्रोत साधनको अभाव छ भन्ने कुरा साँचो हो, तर भएको स्रोत साधनको सही उपयोग नहुनु अझ ठूलो समस्या बनेको छ”, “सरकारी क्षेत्र–क्षेत्रमा अनियमिता र चुहावटको ठूलो समस्या छ भने निजी क्षेत्र पनि करको दायरामा नआउने, सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नेलगायत धेरै समस्या देखिएका छन् ।”
कृषि, पर्यटन, जलस्रोत र सूचना प्रविधि क्षेत्रको विकासबाट मुलुकको समृद्धि सम्भव रहेको जनाउँदै उनले यी क्षेत्रमा उत्पादन वृद्धि गरेर त्यसबाट आउने प्रतिफलको हिस्सेदार आमजनतालाई बनाउनुपर्ने बताइन् । उनले भनिन्– “दलाल पूँजीवादले राज्य वा सार्वजनिक सम्पत्तिको दोहन र जनताको श्रमको शोषण गरेर त्यसबाट प्राप्त प्रतिफल निश्चित व्यक्तिले बाँड्नुपर्छ भन्ने मान्यतालाई जोड दिन्छ तर त्यसको ठीक विपरीत सामूहिक लगानी र सामूहिक प्रतिफलमा आधारित राष्ट्रिय पूँजीको निर्माण गर्दा समाजवादी अर्थतन्त्रको आधार तयार पार्न सकिन्छ भन्नेमा हामी स्पष्ट हुनुपर्छ ।”
तपाईको बिचार