खोटाङ, ९ माघ । जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका सबै सवारीसाधनको भाडादर घटाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेतृत्वमा यातायात व्यवसायी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्रफिक प्रहरी कार्यालय र सरोकारवाला निकायको संयुक्त पहलमा यसअघि लिने गरिएको भाडादरलाई घटाएर नयाँ भाडादर कायम गरिएको हो ।
जिल्लामा सञ्चालित बस, सुमो (जीप), अटो र भ्यान सञ्चालकसँग छुट्टाछुट्टै छलफल गरेर सवारीसाधनको भाडादर घटाइएको प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहले जानकारी दिएका छन् । “जिल्लामा सञ्चालित सबै सवारीले आफूखुसी भाडा लिने गरेका थिए । यसलाई व्यवस्थित गर्न पहिलो चरणमा बसको एकतर्फी भाडा ३१० सम्म घटाइएको छ”, उनले भने, “भाडादरलाई अझ स्थायी बनाउन केही दिन लाग्ने भएको छ । बस, सुमो, अटो र भ्यान सञ्चालक समितिबाट एक–एकजना, उद्योग वाणिज्य संघ, ट्राफिक प्रहरी, पत्रकार महासंघ, नागरिक समाज, १० वटै स्थानीय तहका एक–एकजना प्रतिनिधि राखेर समिति निर्माणगरी वैज्ञानिक तवरबाट भाडा तोकिने र त्यसैलाई स्थायीरूपमा निरन्तरता दिने निर्णय गरिएको छ ।”
बसमा दिक्तेल–खुर्कोट ९५०, दिक्तेल–काठमाडौं एक हजार तीन सय, दिक्तेल–रसुवा–गाईघाट–धरान खडकखण्डमा दिक्तेल–गाईघाटको एक हजार, दिक्तेल–इटहरीको रु एक हजार तीन सय, दिक्तेल–धरान रु एक हजार ३५० र दिक्तेल–कटारी–धरान–विराटनगर–काँकडभिट्टा सडकखण्डमा दिक्तेल–कटारी एक हजार, दिक्तेल–मिर्चैया एक हजार एक सय भाडादर कायम गरिएको छ । दिक्तेल–लहान एक हजार दुई सय, दिक्तेल–इटहरी एक हजार चार सय ५०, दिक्तेल–धरान एक हजार पाँच सय, दिक्तेल–विराटनगर एक हजार ५५० र दिक्तेल–काँकडभिट्टा एक हजार ७५० नयाँ भाडार कायम गरिएको छ । दिक्तेल–भोजपुरअन्तर्गत दिक्तेल–चखेवा ५५०, दिक्तेल–भोजपुर आठ सय, दिक्तेल–मानेभन्ज्याङ ५३०, दिक्तेल–रोक्सिम भन्ज्याङ ६ सय, दिक्तेल–खोटाङबजार सात सय भाडादर तोकिएको छ ।
यात्रुको सहजताका लागि जिल्लाभित्र तथा बाहिर सञ्चालन हुने सबै स्थानको भाडा घटाइएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए । लामो दूरीमा चल्ने सुमोले सबै ठाउँको एक सय भाडा घटाउने र भ्यानले दिक्तेलबाट मुडेसम्मको एक सय, हुर्लुङ १५०, नुनथला दुई सय, महुरे २५०, अर्खौले तीन सय र हलेसी ३५० भाडा लिनुपर्ने जनाइएको छ । भ्यानले दिक्तेलबाट हलेसी रिजर्भ जाँदा तीन हजार पाँच सयमात्रै लिन पाउनेछन् । अटोले सेवा दिइरहेको ठाउँमा ५० घटाउने र दिक्तेलको रत्नपार्कबाट जिल्ला अस्पतालसम्म बिरामी लानुपरेमा बिरामी र सहयोगीको २५० र बिरामीसहित तीनजना भएमा ३५० लिने निर्णय भएको छ । जिल्लामा सञ्चालन हुने अटोले सबैभन्दा बढी भाडा लिने गरेको यात्रुको गुनासो छ । रासस
तपाईको बिचार