चितवन कारागारमा एक सय कैदीबन्दी बिरामी

चितवन कारागारमा एक सय कैदीबन्दी बिरामी

749

नारायणगढ, २९ मंसिर । जिल्ला कारागार कार्यालय चितवनमा रहेका एक सय ११ कैदीबन्दी बिरामी भएको पाइएको छ । उनीहरु विभिन्न रोगबाट पीडित छन् ।

एक सय ११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन् । अन्य जिल्लाबाट उपचारका लागि कैदीबन्दी चितवन पठाउने गरिएको कार्यालय प्रमुख कमलप्रसाद आचार्यले जानकारी दिए । “कारागारमा बिरामी कैदीबन्दीको चाप बढ्दै गएको छ”, उनले भने ।

कार्यालय प्रमुख आचार्यका अनुसार नवलपरासी, धादिङ, गोरखा, मकवानपुरलगायत जिल्लाबाट बिरामी कैदीबन्दी यहाँ उपचारका लागि ल्याउने गरिएको छ । अहिले कारागारमा मधुमेहका २६, थाइराइडका तीन, मुटुरोगी चार, एचआइभी सङ्क्रमित चार, छारेरोगबाट पीडित  चार, मानसिक रोगी पाँच, हेपाटाइटिसबाट पीडित तीन तथा अन्य रोगबाट पीडित कैदीबन्दी रहेका छन् ।

जिल्लामा केन्द्रीयस्तरको सरकारी अस्पताल, क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज र २४ भन्दा बढी निजी अस्पताल रहेका कारण कैदीबन्दीलाई उपचारका लागि यहाँ पठाउने गरिएको छ । अहिले कारागारमा क्षमताभन्दा झण्डै दुई सय बढी कैदीबन्दी राखिएको छ । रासस

तपाईको बिचार

सम्बन्धित खबर