जनकपुरधाम, ७ मंसिर । सिराहाको हुलाकी राजमार्गमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किंएर दुर्घटना हुँदा तीनजना युवकको मृत्यु भएको छ भने एकजना सख्त घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिराहाका मृत्यु हुनेहरुमा सिराहाको अर्नामा गाउँपालिका-५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह रहेका छन् । बुधबार साँझ करिब ७ः१५ बजेको समयमा सिराहा नगरपालिका-१९ सन्हैठा नयाँचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स२प ४५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २-०१-००१ प १८५० नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
उपचारको लागि प्रादेशिक अस्पताल सिराहामा पुर्याउँदा तीनै जनालाई साढे ७ बजेतिर चिकित्सकले मृत्यु घोषणा गरेको हो । मोटरसाइकलमै सवार स्थानीय १५ वर्षीय युवराजकुमार यादव सख्त घाइते भएका छन् । उनलाई थप उपचारका लागि राति नै विराटनगर रिफर गरिएको छ ।
प्रहरीका अनुसार दुवै मोटरसाइकलका चालकले हेलमेट लगाएका थिएनन् । हेलमेट नलगाइ तीव्रगतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भएर क्षति भएको प्रहरीले जनाएको छ ।
तपाईको बिचार