काठमाडौँ, २७ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तिहार लगायतका पर्वहरूले परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा एवं सुदृढीकरण गर्दै समाजवादको वैचारिक, राजनीतिक, आर्थिक एवं सांस्कृतिक आधार तयार पार्न महत्त्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरेका छन् ।
सोमबार तिहार पर्वको शुभकामना वक्तव्य जारी गर्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता एवं अथाह प्राकृतिक सम्पदा र सभ्यताहरूको संगमस्थलका रूपमा रहेको भन्दै विविधतायुक्त हाम्रा संस्कार, संस्कृति र पर्वहरू राष्ट्रका साझा सम्पत्ति मात्र नभएर देश र जनतालाई सांस्कृतिक र भावनात्मक रूपले एकताको सुत्रमा बाँध्ने महत्त्वपूर्ण आधारहरूसमेत भएको बताएका छन् ।
‘नेपाली जनताको निकै ठुलो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रले आन्तरिक राष्ट्रियतालाई सुदृढ गर्दै देशको स्वाधीनता र स्वाभिमान उच्च राख्न हामीलाई निकै ठुलो आधार प्रदान गरेको छ’, प्रधानमन्त्रीले भनेका छन्, ‘तसर्थ, परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा एवं सुदृढीकरण गर्दै समाजवादको वैचारिक, राजनीतिक, आर्थिक एवं सांस्कृतिक आधार तयार पार्न तिहार लगायतका पर्वहरूको महत्त्वपूर्ण भूमिका रहने मेरो गहिरो विश्वास छ ।’
प्रधानमन्त्री प्रचण्डले नेपालका विविध जाति, जनजाति र समुदायले मनाउने राष्ट्रिय पर्वहरू प्राकृतिक सम्पदा र ऐतिहासिकतामा आधारित रहँदै आएका पनि बताएका छन् । ‘यस्ता पर्वहरूभित्र श्रमप्रति सम्मान, सामाजिक भावना र मित्रता, सामाजिक सहअस्तित्व एवं मानवीय जीवनमा आइपर्ने चुनौतीहरूमाथि सहकार्य र एकताका आधारमा विजय हासिल गर्ने विचार र व्यवहार अन्तर्निहित छन्’, प्रधानमन्त्रीको भनाइ छ ।
तपाईको बिचार