काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको राजनीतिक एकताप्रति गम्भीर चेतावनी दिएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले नयाँ अनुहारका रूपमा प्रस्तुत गरिएका पात्रहरू पुरानै प्रवृत्तिमा फस्ने खतरा बढेको बताएका छन्।
बस्नेतका अनुसार गगन थापादेखि रवि लामिछानेसम्म नयाँ अनुहारलाई जबर्जस्ती नायक बनाउने प्रवृत्ति दोहोरिँदै आएको छ। बालेन शाह लोकप्रियताको उचाइमा पुगे पनि तीन वर्षको कार्यकालमा नगरपालिका नै पूर्ण रूपमा रूपान्तरण गर्न नसकेको र देश परिवर्तन गर्ने दाबी भ्रमपूर्ण भएको उनले बताए।
एमाले सचिवले बालेनको लोकप्रियता स्वतन्त्र छविसँग गाँसिएको भए पनि रवि जस्ता विवादित पात्रको नेतृत्वमा रहेको दलसँग जोडिँदा त्यो आकर्षण घट्दै गएको टिप्पणी गरे। स्पष्ट दृष्टि र दीर्घकालीन योजना नभएर सत्ताको भय देखाएर मात्र चल्ने राजनीति पुरानो शैलीको निरन्तरता भएको उनले उल्लेख गरे।
भदौ २३ गतेको शान्तिपूर्ण प्रदर्शन हिंसात्मक मोडमा परिणत हुँदा केही युवाले ज्यान गुमाए र त्यसपछि राज्य तथा लोकतान्त्रिक संस्थामाथि आक्रमण भएको घटनालाई उनले गम्भीर राजनीतिक षड्यन्त्रको सुरुआतको रूपमा व्याख्या गरे।
बस्नेतले अबको निर्वाचनमा मुख्य प्रश्न अराजकता रोज्ने कि संविधान, संसद् र सर्वोच्च अदालत जोगाउने राजनीतिक शक्तिलाई साथ दिने भन्ने रहेको बताए। उनका अनुसार समस्या पुराना दलको अस्तित्वमा नभई तिनभित्रका विकृति र कमजोरीमा रहेको छ। नयाँ दल खोल्नु समाधान नभई पुराना दललाई परिमार्जन गर्दै सुधार गर्नु नै दीर्घकालीन बाटो हो।
अन्ततः उनले जनता फेरि ‘नयाँ बोतलमा पुरानो रक्सी’ को भ्रममा नपर्न र संविधान र लोकतन्त्रको पक्षधर शक्ति एकजुट हुनुपर्ने आवश्यकता औँल्याए।
तपाईको बिचार