रवि–बालेन समझदारी, भावी प्रधानमन्त्रीका रूपमा बालेन अघि सारिने

रवि–बालेन समझदारी, भावी प्रधानमन्त्रीका रूपमा बालेन अघि सारिने

665

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा जाने सहमति भएको छ । सो सहमतिसँगै उनीहरूले ७ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार पार्टीको केन्द्रीय नेतृत्व रवि लामिछानेले गर्नेछन् भने आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा बालेन शाहलाई अघि सारिनेछ । आगामी एक दशकका लागि मुलुकको स्पष्ट मार्गचित्र अघि सार्दै त्यसको कार्यान्वयनमा प्रतिबद्ध रहने उनीहरूले जनाएका छन् ।

बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध हुन सहमत भएपछि पार्टीको नाम, झण्डा र चुनाव चिन्ह यथावत् राखिएको छ । सम्झौतापत्रमा दुवै नेताले आफ्नो पदीय हैसियत उल्लेख नगरी नाममात्रै लेखेर हस्ताक्षर गरेका छन् । यसपछि बालेन शाह मेयर पदबाट राजीनामा दिएर सक्रिय पार्टी राजनीतिमा प्रवेश गर्ने सम्भावना देखिएको छ ।

सम्झौताका पहिलो बुँदामा नवयुवा ९जेन–जी० ले भ्रष्टाचार र कुशासनविरुद्ध थालेको आन्दोलनको अपनत्व लिने उल्लेख छ । साथै आन्दोलनका क्रममा घाइते र शहीद भएका परिवारका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ ।

दोस्रो बुँदामा समुन्नति र सामाजिक न्यायका लागि नीतिगत, संस्थागत तथा संरचनागत सुधार गर्ने उल्लेख गर्दै नेपाललाई आगामी १० वर्षभित्र सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने लक्ष्य लिइएको छ ।

सम्झौतापत्रमा पार्टीको संगठनात्मक संरचना थप सुदृढ र फराकिलो बनाउँदै युवा अभियन्ता र अनुभवी विज्ञलाई योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा जिम्मेवारी दिने उल्लेख छ । बृहत् राजनीतिक एकताको अवधारणा अघि सार्दै अन्य परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिलाई पनि सहकार्यका लागि आह्वान गरिएको छ ।

सम्झौता तत्काल कार्यान्वयन गर्ने योजना अनुसार निर्वाचन आयोगमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी अभिलेख र दस्तावेज अद्यावधिक गरिने जनाइएको छ । अब बालेन पक्षका समानुपातिक उम्मेद्वारहरू पनि रास्वपाबाटै प्रतिस्पर्धा गर्नेछन् । दुई दिनभित्र समानुपातिक उम्मेद्वारको सूची बुझाइने तयारी छ भने प्रत्यक्षतर्फको मनोनयनका लागि अझै केही साता समय बाँकी छ ।

यसअघि पनि रवि लामिछाने र बालेन शाहबीच संयुक्त रूपमा निर्वाचनमा जाने विषयमा पटक–पटक छलफल भए पनि निष्कर्षमा पुग्न सकेको थिएन । उच्च अदालत तुलसीपुरको बुटबल इजलासको आदेशपछि रवि लामिछाने कारागारबाट रिहा भएसँगै पार्टी एकता र सहकार्यको प्रक्रिया तीव्र बनेको हो ।

तपाईको बिचार