आईबा वर्ल्ड च्याम्पियनसिपमा चन्द्र थापाको ऐतिहासिक कास्य पदक

आईबा वर्ल्ड च्याम्पियनसिपमा चन्द्र थापाको ऐतिहासिक कास्य पदक

603

काठमाडौ । दुबईमा जारी आईबा मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा नेपालका चन्द्र बहादुर थापाले ऐतिहासिक सफलता हात पार्दै कास्य पदक जितेका छन्। आज सम्पन्न सेमिफाइनलमा ५४ किलो तौलसमूहमा कजाखस्तानका विश्वको सातौँ वरीयतामा रहेका विबोसिनोभ सकेनसँग ५–० को अन्तरमा पराजित भएपछि थापा कास्यमै सीमित भए।

अनुभवी प्रतिद्वन्द्वीविरुद्ध उत्कृष्ट प्रदर्शन गरे पनि सकेनको लामो रिच, बलियो गार्ड र क्वालिटी ब्लोको कारण थापा पहिलो राउन्डदेखि नै दबाबमा परे। तीनै राउन्डमा ५–० ले पछि परे पनि उनले लगातार अंक बटुल्ने प्रयास जारी राखे।

यद्यपि, पराजयका बीच थापाले नेपाली बक्सिङको इतिहासमा नयाँ कीर्तिमान बनाएका छन्। कास्य पदकसँगै उनले ७५ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्दै आईबा वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा पदक जित्ने पहिलो नेपाली मुक्केबाज बन्न सफल भएका छन्।

यो प्रतियोगितामा सहभागी पाँचै नेपाली खेलाडीहरूको यात्रा थापाको सेमिफाइनल पराजयसँगै टुंगिएको छ। अन्य खेलाडीमध्ये ४८ किलो तौलसमूहमा लालप्रसाद उप्रेतीले उल्लेखनीय प्रदर्शन गर्दै माल्दोभाका पोरोम्बोक मिहाई र इथोपियाका अलेमु अबेल अबात्येलाई ५–० को युनानिमस डिसिजनमा पराजित गरेका थिए। उनी १० हजार अमेरिकी डलर पुरस्कार हात पार्दै प्रतियोगिता समाप्त गरेका छन्।

नेपालका पाँच मुक्केबाजले प्रतिस्पर्धा गरेको यो वर्षको आईबा मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिप नेपाली बक्सिङ इतिहास कै महत्वपूर्ण अध्याय बनेको छ।

तपाईको बिचार