निशर्त एकता नगरे सहर्ष बिदाई नै ईश्वर पोखरेलको निमित्त सही बिकल्प : महेश बस्नेत

निशर्त एकता नगरे सहर्ष बिदाई नै ईश्वर पोखरेलको निमित्त सही बिकल्प : महेश बस्नेत

622

काठमाडौ  । नेकपा एमालेको महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वका उम्मेदवारदेखि लिएर पार्टी एकताको बहस तातेको छ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्‍मेदवारी घोषणा गरेपछि एमालेभित्र नयाँ तरंग पैदा भएको छ। मङ्सिर २७ देखि २९ गते काठमाडौंमा हुने महाधिवेशनका लागि अहिले देशभर प्रतिनिधि छनोटको प्रक्रिया चलिरहेको छ।

यसबीच एमाले नेता महेश बस्नेतले पोखरेलको उम्मेदवारीले पार्टीभित्र अनावश्यक प्रतिस्पर्धा र तनाब सिर्जना गरेको दाबी गरेका छन्। उनका अनुसार अहिलेको प्रमुख प्रश्न “को नेतृत्व दाबी गर्छरु” नभई “को पार्टी बचाउन सक्छरु” भन्ने हो। बस्नेतले यस्तो संवेदनशील समयमा अध्यक्ष केपी शर्मा ओलीकै दृढ नेतृत्व एमालेलाई मजबुत बनाउन सक्षम रहेको टिप्पणी गरेका छन्।

उनका अनुसार ईश्वर पोखरेलजस्ता नेता पार्टीका सम्पत्ति भए पनि यस्तो निर्णायक घडीमा नेतृत्व परिवर्तनको प्रयासले अझै विभाजन, विवाद र बाह्य शक्तिलाई मौका दिने जोखिम बढाएको छ। पार्टीलाई आन्तरिक एकता, अनुशासन, संगठनिक बल र स्थिर नेतृत्व आवश्यक छ, जुन ओलीकै नेतृत्वमा सम्भव हुने बस्नेतको तर्क छ।

बस्नेतले भनेका छन्—
एमाले अहिले आन्तरिक–बाह्य दुवै मोर्चाबाट दबाब झेलिरहेको अवस्थामा पोखरेलले जारी गरेको विज्ञप्तिले अनावश्यक तरंग र प्रतिस्पर्धाको वातावरण बनाएको छ। पार्टी महाधिवेशन नजिकिएको छ, राष्ट्रिय राजनीति निर्णायक मोडमा छ, र विदेशी–स्वदेशी शक्तिहरू निरन्तर एमाले र अध्यक्ष ओलीमाथि प्रहार गरिरहेका छन्। यस्तो समयमा प्रतिस्पर्धाभन्दा नेतृत्वको स्थिरता महत्त्वपूर्ण हुन्छ, उनी भन्छन्।

उनका अनुसार पार्टीलाई अहिले जुझारु पंक्ति, स्पष्ट कार्यदिशा र मजबुत संगठन आवश्यक छ। बस्नेतले ओलीकै नेतृत्वमा यी सबै सम्भव हुने बताउँदै पोखरेललाई एकताको बाटो रोज्न आग्रह गरेका छन्।
उनले थपे— यदि योगदान दिन सकिन्छ भने निसर्त एकता आवश्यक छ, र यदि सकिँदैन भने सहर्ष विदाइ नै सही विकल्प हो। व्यक्तिगत आकांक्षा कहिल्यै पार्टीभन्दा ठूलो नहुने र पार्टी देशभन्दा ठूलो नहुने उल्लेख गर्दै उनले राष्ट्रिय शक्ति निर्माण ओलीको नेतृत्वमा एकजुट एमालेले मात्रै गर्न सक्ने दाबी गरे।

तपाईको बिचार