काठमाडौँ । भारतले घरेलु मैदानमा लज्जास्पद हार बेहोरेको छ । दक्षिण अफ्रिकाले गुवाहाटी टेस्ट ४०८ रनले जित्दै दुई खेलको टेस्ट सिरिज भारतविरुद्ध २-० ले क्लीन स्वीप गरेको छ ।
दक्षिण अफ्रिकाले कोलकाता टेस्ट ३० रनले जितेको थियो भने गुवाहाटी टेस्ट ४०८ रनले जितेको छ ।
दक्षिण अफ्रिकाले ५४९ रनको लक्ष्य दिएकोमा भारत १४० रनमा अल आउट भएको थियो । यो टेस्ट क्रिकेटमा र घरेलु मैदानमा रन अन्तरको हिसाबले भारतको सबैभन्दा ठूलो हार हो । यसअघि २००४ मा अस्ट्रेलियासँग नागपुरमा ३४२ रनले हार बेहोरेको थियो ।
भारतले पछिल्लो १३ महिनामा योसहित दोस्रो पटक घरेलु मैदानमा टेस्ट सिरिजमा क्लिन स्वीपसहित हार बेहोरेको छ । यसअघि, अक्टोबर(नोभेम्बर २०२४ मा न्युजिल्यान्डले तीन खेलको टेस्ट सिरिजमा भारतलाई ३(० ले पराजित गरेको थियो । यो हार विश्व टेस्ट च्याम्पियनसिपको दृष्टिकोणबाट भारतको आशामा धक्काको रुपमा हेरिएको छ ।
दक्षिण अफ्रिकाले आफ्नो पहिलो इनिङमा ४८९ रन बनाएको थियो। जवाफमा, भारतको पहिलो इनिङ २०१ रनमा समेटिएको थियो ।
यस टेस्टमा भारतका नियमित कप्तान शुभमन गिल इन्जुरिका कारण खेलेका थिएनन् ।
तपाईको बिचार