बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।
लामिछानेका कानुन व्यवसायीको तर्फबाट स्थगितको निवेदन परेपछि सुनुवाइ रोकिएको हो । सुनुवाइका लागि आज न्यायाधीशद्वय मिलन कुमार राई र सानु मैया डंगोलको इजलासमा पेशी तोकिएको थियो ।
यसअघि उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले सर्वोच्च अदालतबाट सक्कल मिसिल झिकाउने आदेश गरेको थियो । उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रवि र छविको मुद्दाको एकैसाथ सुनुवाइ भइरहेको हो ।
लामिछानेसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोग पत्र दायर गरिएको छ । लामिछानेले चार भागमध्ये आफ्नो एक भागको बिगो रकम २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत दाखिला गर्दा जिल्ला अदालत रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो । जोशीले पनि बिगोबापतको जमानत पेस गरेका थिए । तर, दुवै प्रतिवादीको हकमा भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने आदेश भएको थियो ।
तपाईको बिचार