पाँच तारा साकोसको १८औं साधारण सभा सम्पन्न

पाँच तारा साकोसको १८औं साधारण सभा सम्पन्न

639

काठमाडौं । पुरानो सिनामंगल स्थित पाँच तारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औं वार्षिक साधारण सभा नियामकीय निर्देशनहरुको पालना गर्दै आज (बुधबार) सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष भोला नाथ पाठकको सभापतित्वमा भएको साधारण सभा सदस्यहरुको सभ्य र भव्य सहभागितामा पूर्वनिर्धारित एजेण्डाहरु उपर छलफल गरी छिटो र छरितो तरिकाले सम्पन्न गरेको हो ।

समयमै वार्षिक लेखापरिक्षण सम्पन्न गरी असोज मसान्त भित्रै वार्षिक साधारण सभा समेत सकेर संस्थागत सबलताको उदाहरण पाँच तारा सहकारीले प्रस्तुत गरेको छ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष भोला नाथ पाठकले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै कोषाध्यक्ष अवधेश कुमार पाण्डेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१÷८२ को आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको तर्फबाट संयोजक दिपक रिजालले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत स्वीकृत गरिएको थियो ।

सभामा प्रतिवेदन पेश गर्दै अध्यक्ष पाठकले वि.सं २०६५ सालबाट संस्थाले कार्यारम्भ गरेको र प्रारम्भिक साधारण सभादेखि हरेक वार्षिक साधारण सभा निर्देशित समय भित्रै गर्दै आएको बताए ।

संस्थाका निर्णय कार्यान्वयन, प्रशासनिक गतिविधि र तथ्यांकगत सूचकहरुको संग्रह वार्षिक प्रतिवेदन प्रारम्भिक साधारणसभादेखि नै मुद्रित रुपमा सभा समक्ष निरन्तर प्रस्तुत गर्दै आइरहेको समेत बताए । क्रियाशिल सदस्यहरु संस्थाको निरन्तर सामिप्यतामा रहिरहने भएता पनि व्यवस्थापन र सदस्य माझ विगतको समिक्षा साथै संस्थाको आगामी कार्यदिशाका सम्बन्धमा सामुहिक रुपमा छलफल गर्ने र संचालक समितिलाई निर्देश गर्ने स्थायी संरचना साधारण सभा रहेको उनले बताए ।

संस्थाले प्रदान गर्ने दैनिक सदस्य सेवालाई चुस्त दुरुस्त र साधारण सभाले दिएका अख्तियारी, जिम्मेवारी र निर्णयहरुको समुचित कार्यान्वयन गर्ने कामलाई समितिले विगत वर्षहरु भै प्राथमिकताका साथ पालना गरेको अध्यक्ष पाठकले बताए ।

निर्णय कार्यान्वयनका सन्दर्भमा आ.व. २०८१÷८२ को अवधिमा संचालक समितिको १३ पटक नियमित र १५ पटक कार्य सम्पादन सहजिकरण तथा विषयगत निर्णयका लागि संक्षिप्त रुपमा समेत आवश्यकता अनुसार बैठक राखिएको जानकारी सभामा गराए ।

सदस्यहरुको सुविधा र हितलाई ध्यान दिई विगतमा घोषणा गरिएका प्रस्तावहरुलाई क्रमशः कार्यान्वयन र व्यवस्थित गर्दै लगिने समेत प्रतिवद्धता अध्यक्ष पाठकले जनाए । संस्थाले बचतमा सकभर स्थिर व्याजदर र ऋणमा निरन्तर व्याजको दर घटाउँदै जाने नीतिलाई स्थापनाकालदेखि नै कार्यान्वयन गर्दै आएको उनले बताए ।

आर्थिक प्रतिवेदन पेश गर्दै कोषाध्यक्ष पाण्डेले संस्थाको सेयर पुँजी ८ करोड ३३ लाख ९३ हजार ४ सय रुपैयाँ कायम भएको बताए । त्यस्तै चालु आर्थिक वर्षमा ९ करोड २१ लाख सेयर पुँजी पुर्याउने लक्ष्य संस्थाले लिएको बताए ।

त्यस्तै संस्थाको जगेडा कोषमा ६ करोड ६७ लाख, बचत ६४ करोड ५९ लाख, ऋण लगानी ७२ करोड ९४ लाख, स्थिर सम्पत्ति ४ करोड ३० लाख, कुल आम्दानी ८ करोड ७० लाख, खर्च ८ करोड, खुद नाफा ९८ लाख रहेको छ । त्यस्तै ऋण नोक्सानी कोषमा ३ करोड ५० लाख रहेको छ । संस्थामा २ हजार ९७ जना आवद्ध छन् ।

तपाईको बिचार