निर्णायक खेलमा नेपाल विजयी, मलेसियामाथि ३–२ को शृंखला जित

निर्णायक खेलमा नेपाल विजयी, मलेसियामाथि ३–२ को शृंखला जित

693

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियामाथि टी–२० अन्तर्राष्ट्रिय (टी–२०आई) शृंखला जित्दै ऐतिहासिक सफलता हात पारेको छ ।

बुधबार विहान सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गर्दै ५ खेलको शृंखला ३–२ ले आफ्नो पक्षमा पार्‍यो ।

मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमै ५ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा रुबी पोदारले सर्वाधिक २६ रनको योगदान दिइन् भने पूजा महतोले २३ रन बनाइन्। कप्तान रुबिना क्षेत्री १५ रनमा अविजित रहिन्।
मलेसियाका नुर दानिया स्युहादा, आइसा एलिसा, आइना हमिजा, नुर आलिया बत्रिसिया र माहिरा इजातीले एक–एक विकेट लिए।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०३ रन जोडेको थियो। कप्तान विनिफ्रेड दुराइसिंघामले टोलीका लागि सर्वाधिक ४० रन बनाइन्।
नेपालका लागि कविता कुँवरले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिइन्। त्यस्तै राजमती ऐरीले पनि ३ विकेट हात पारिन्।

नेपालले यसअघि पहिलो खेलमा ३ रनले पराजय भोगेको थियो भने दोस्रो खेलमा ६ विकेटको जित दर्ता गरेको थियो। तेस्रो खेलमा १३ रनले हार बेहोरेको नेपालले चौथो खेलमा ६ विकेटको जीत निकाल्दै निर्णायक खेलसम्म पुगेको थियो।

पाँचौं खेलमा उत्कृष्ट प्रदर्शनसँगै नेपालले शृंखला ३–२ ले आफ्नो पक्षमा पार्दै मलेसियामाथि ऐतिहासिक सिरिज विजय सुनिश्चित गरेको हो।

तपाईको बिचार

सम्बन्धित खबर