कविता : आमा र राज्य

कविता : आमा र राज्य

  • बोधराज पौडेल२०८२ भाद्र ९ सोमबार ११:५०:०३
587
कवि बोधराज पौडेल

राज्य मैले खाने गाँसमा कर लगाउँछ
आमा एक गाँस थप गर्नका लागि कर लगाउनु हुन्छ
फरक यति छ आमा र राज्यमा
आमा स्वस्थ बनाउन कर लगाउनु हुन्छ
राज्य चिन्ता बढाउन कर लगाउँछ ।

मैले भात नखादा,
चिन्ताले आफूसमेत नखाने मेरी आमा
र, मैले कर तिर्न नसक्दा
मलाई सुविधाबाट बञ्चित गर्ने राज्य
म बुझ्न खोजिरहेछु फरक
आमा र राज्यमा

राज्य जनताप्रति
र, आमा सन्तानप्रति
सधैँ उत्तरदायी हुन्छ भन्थे
मैले पढ्ने किताबका शब्दहरू
के मेरो राज्य मेरी आमा जस्तै छ त ?
एउटा अनुत्तरीत प्रश्न छ मेरो
कर र करको बीचको फरकमा
आमा र राज्यप्रति

तपाईको बिचार