काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आफ्नो एक वर्षे कार्यकालका अवसरमा उल्लेखनीय सुधार, नीतिगत निर्णय र सेवा विस्तारका उपलब्धिहरू सार्वजनिक गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले उपलब्धिहरु सार्वजनिक गरेको हुन् ।
नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने लक्ष्यअनुसार मन्त्री पौडेलको नेतृत्वमा ५,१० र १५ शैय्याका अस्पतालहरूको निर्माण र सञ्चालनमा तीव्रता दिइएको छ । यसअन्तर्गत ११३ अस्पताल निर्माण सम्पन्न भइसकेको छ भने नयाँ आर्थिक वर्षमा थप २५० अस्पताल सम्पन्न गर्न ११ अर्ब रुपैयाँ बजेट सुनिश्चित गरिएको छ ।
फागुन महिनालाई ‘नसर्ने रोग परीक्षण महिना’ र श्रावणलाई ‘डेंगु सचेतना महिना’ को रूपमा मनाउने निर्णयसँगै नसर्ने रोग नियन्त्रण अभियान र समुदाय केन्द्रित लामखुट्टे नियन्त्रण कार्यक्रमको थालनी गरिएको समेत मन्त्री पौडेलले बताए ।
१० देखि १४ वर्ष उमेर समूहका १४ लाख ६२ हजार किशोरीलाई एचपीभी खोप दिइएको छ, जसले पाठेघरको मुखको क्यान्सरबाट बचाउने विश्वास गरिएको छ । यो कार्यक्रमलाई आगामी वर्षदेखि नियमित खोप कार्यक्रमअन्तर्गत ल्याउने तयारी गरिएको छ ।
क्यान्सर, मुटु रोग, जलन उपचार, निःसन्तान समस्या, र अंग प्रत्यारोपण सेवा संघीय राजधानीबाहिर विस्तार गरिएको छ । सातै प्रदेशमा जलन उपचार सेवा विस्तार हुँदैछ भने मधेश र गण्डकी प्रदेशमा मुटु उपचार सेवा सुरु भइसकेको छ ।
सिकलसेल एनेमिया, हिमोफिलिया, र पक्षघात जस्ता रोगका बिरामीलाई आवश्यक जीवनरक्षक औषधिहरू निःशुल्क प्रदान गर्न थालिएको छ । साथै, स्वास्थ्य बीमा प्रणालीमा व्यापक सुधार गरिँदै नवीकरण प्रक्रिया सरल बनाइएको, रिफरल प्रणाली परिमार्जन गरिएको तथा दीर्घ रोगीका लागि उपचार सीमा बढाइएको छ ।
वीर, पाटन, भरतपुर, कोशी, बीपी कोइराला लगायतका ठूला अस्पतालहरूमा विशिष्टीकृत सेवाहरू थप गरिएका छन् । सेवा प्रवाह सुधार गर्न दुई सिफ्ट ओपीडी सेवा, टोकन प्रणाली, अनलाइन टिकट, र अस्पताल फार्मेसीमा अनिवार्य औषधिको सुनिश्चितता गरिएको छ ।
छात्रवृत्तिमा अध्ययन गरेका ७५१ जना विशेषज्ञ चिकित्सक तथा १६० जना समायोजित चिकित्सकलाई दक्षताका आधारमा अस्पतालहरूमा खटाइएको छ । यसले प्रदेश तथा स्थानीय तहका अस्पतालमा सेवा गुणस्तर सुधारमा योगदान दिएको मन्त्रालयले जनाएको छ ।
सबै पालिकामा जनस्वास्थ्य अधिकारी खटाउने व्यवस्था गरिएको छ । नागरिक आरोग्य कार्यक्रम अन्तर्गत योग, ध्यान, स्वस्थ जीवनशैली कार्यक्रम विस्तार गरिँदैछ। साथै, बुढानिलकण्ठमा स्थापना गरिएको रााष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्र सेवा प्रारम्भ भइसकेको छ ।
मन्त्रालयले दर्जनौं निर्देशिका, कार्यविधि र विधेयकहरू तयार पारेको छ, जसमा औषधि तथा स्वास्थ्य सामग्री ऐन, एकीकृत अस्पताल सञ्चालन विधेयक, स्वास्थ्य सेवा ऐन लगायत उल्लेखनीय छन् । यी कानूनी संरचनाहरूले प्रणालीमा दीर्घकालीन सुधार ल्याउने अपेक्षा गरिएको छ ।
भारतसँग आयुर्वेद, औषधि र स्वास्थ्य क्षेत्रमा दुई समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । त्यस्तै, सुर्तीजन्य पदार्थ नियन्त्रणमा नेपालले गरेको कार्यको मूल्यांकन गर्दै विश्व स्वास्थ्य संगठनबाट विशेष पुरस्कार प्राप्त गरेको छ ।
यसैगरी स्वास्थ्य संस्था र जनशक्तिको डिजिटल तथ्यांक संकलन, स्तन क्यान्सरको वंशाणुगत परीक्षण नेपालमै सुरु तथा हेल्लो स्वास्थ्य १११५ हटलाइन सेवा सुरु गरिएको समेत मन्त्रालयले जनाएको छ ।
तपाईको बिचार