रुपन्देही, १६ असार । रुपन्देही क्षेत्र नं–३ मा प्रतिनिधिसभा सदस्यको रिक्त पदपूर्तिका लागि आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै उपनिर्वाचनको मिति तोकेको हो ।
रुपन्देही क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपक बोहराको चैत १९ गते निधन भएकाले यहाँ उपनिर्वाचन हुनेभएको छ । विसं २०७९ मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा बोहरा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गर्दै विजयी हुनुभएको थियो ।
“प्रतिनिधिसभाको कार्यकाल ६ महिना बढी अवधि बाँकी रहँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पदपूर्ति गरिनेछ,” भन्ने संविधानको धारा ८४ को उपधारा ७ अनुसार उपनिर्वाचनको मिति तोक्नुपर्ने संवैधानिक एवं कानुनी व्यवस्थाअनुसार चैत १७ गते उपनिर्वाचनको मिति तोकिएको आयोगकी सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
अब रिक्त पदपूर्तिका लागि संविधान र निर्वाचन कानुनअनुसार तय गरिएको उपनिर्वाचन मितिअनुसार आवश्यक प्रक्रिया सञ्चालन हुनेछ । निर्वाचन आयोगले चाँडै मतदाता नामावली, उम्मेदवारी दर्ता, आचारसंहितालगायतका कार्यतालिका सार्वजनिक गर्ने जनाएको छ ।
तपाईको बिचार