कैलाली, २२ जेठ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकासमा वर्तमान सरकारले परिकल्पना गरेअनुसार काम भइरहेको बताउनु भएको छ ।
आज गोदावरी नगरपालिका–३ चौकीडाँडामा एसियाली विकास बैङ्कको ऋण सहयोगमा निर्माण गरिएको एकीकृत फोहोरमैला व्यवस्थापन प्रणालीको उद्घाटन कार्यक्रममा उहाँले देशभरको पूर्वाधार विकास निर्माणमा सङ्घीय सरकार, स्थानीय तह र दातृनिकायको सहयोगमा उल्लेख्य काम भइरहेको बताउनुभयो ।
सरकारले नयाँ सहर निर्माणका लागि एकीकृत सहरी खाका तयार गरी अघि बढिरहेको उहाँले बताउनुभयो । उहाँले देशका १८५ वटा नगरपालिकाको एकीकृत सहरी योजना तयार पारिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार तराई मधेसका सहरको आर्थिक अवस्था चलायमान बनाउन सहरी विकास मन्त्रालयले सो क्षेत्रका नगरपालिकामा एक हजार किलोमिटर बढी सडक र ढल निर्माण गरिरहेको छ ।
उपप्रधानमन्त्री सिंहले मन्त्रालयले आवास विहीनका लागि जनता आवास निर्माण र सुरक्षित आवास निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
तपाईको बिचार