स्रोतलाई प्रभावकारी ढङ्गले उपयोग गर्नेगरी बजेट आएको छ : उपप्रधानमन्त्री पौडेल

स्रोतलाई प्रभावकारी ढङ्गले उपयोग गर्नेगरी बजेट आएको छ : उपप्रधानमन्त्री पौडेल

841

ललितपुर २१ जेठ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोतलाई प्रभावकारी ढङ्गले उपयोग गर्नेगरी आर्थिक वर्ष २०८२ र ८३ को बजेट आएको बताउनुभएको छ ।

नेपाल पूर्वाधार पत्रकार समाजले आज ललितपुरमा आयोजना गरेको बजेटमा पूर्वाधार क्षेत्र र कार्यान्वयन विषयम पूर्वाधार छलफलमा उहाँले पूर्वाधार निर्माणमा देशको आवश्यकता र उपलब्ध स्रोतको बीचमा रहेर स्रोतको दुरुपयोग हुन नदिने गरी बजेट निर्माण भएको जानकारी दिनुभयो ।

“पूर्वाधार निर्माणमा सबैले भोग्दै आएको समस्या समाधानका लागि केही सुधारका प्रयास गरेका छौँ, यी सुधार आगामी दिनमा परिणाममुखी बन्न सकोस्, बजेट एउटा अङ्कको दस्ताबेज मात्रै हो, यसको विश्वसनीयतामाथि प्रश्न नउठ्ने गरी यथार्थमा आधारित रहेर बजेट आएको छ, आलोचना सुन्नुपरेको छैन”, उहाँले भन्नुभयो ।

उपप्रधानमन्त्री पौडेलले बजेट अनुशासनका दृष्टिकोणले स्रोतको सही व्यवस्था गर्नेगरी पुँजीगत खर्चको लागि बजेट व्यवस्थापन गरिएको छ भन्नुभयो । “हामीले विगतमा साधारण खर्चलाई वृद्धि गर्दै आएका थियौँ, त्यसलाई निश्चित सीमामा बाँध्न कठिन प्रयास गरिएको छ, सार्वजनिक खरिद ऐनको विषयमा लामो समयदेखि चर्चा चल्ने गरेको छ, केही समय अगाडि भएको १४औँ संशोधनले केही कुराहरु समाधान गरेको छ, सबैका सुझाव सङ्कलन गरेर नेपालको निर्माण क्षेत्र सार्थक रुपमा अगाडि बढ्न सकोस् भन्ने गरी संशोधन गर्न तत्पर छौँ”, उहाँले भन्नुभयो ।

उहाँले निर्माण सामग्रीको अभावमा निर्माणका कामहरु प्रभावित बन्नुहुँदैन भन्दै वातावरणीय अध्ययन गरेर उपयुक्त स्थानबाट मात्रै खानीजन्य र नदीजन्य सामग्रीहरु उत्खनन गर्छौं भन्नुभयो । उहाँले विकासका ठूला आयोजनाका लागि बजेटले वैकल्पिक विकास वित्तको प्रयोग गर्नेगरी व्यवस्थापन गरेकाले सोहीअनुसारका कानुन संसद्बाट पारित हुने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको बिचार