काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको छ । शनिबार बिहान ७ बजेदेखि कफ्र्यु हटाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
राजावादी कार्यकर्ताले काठमाडौंमा यत्रतत्र आगजनी र तोडफोड गर्न थालेपछि शुक्रबार दिउँसोदेखि ७ बजेसम्मको लागि कर्फ्यु आदेश जारी गरिएको थियो ।
७ बजेसम्म जारी कर्फ्यु थप गरी शनिबार बिहानसम्म पुर्याईएको थियो । अहिले ७ बजेबाट कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा लगाइएको कफ्र्यु हटाइएको हो ।यसैबीच हिंसात्मक प्रदर्शन भएको क्षेत्रको निरीक्षण गर्न गृहमन्त्री रमेश लेखक जाने भएका छन् ।
त्यहाँ जारी गरिएको कफ्र्यु आदेशको समय सकिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार थप कर्फ्यु आदेशको सम्भावना छैन । तर, प्रहरी निगरानी उच्च पारिएको उनले बताए ।
त्यहाँ कुनै किसिमको प्रदर्शन भए ‘फायर’ खोलिने, अर्थात् गोली प्रहार गरिने उनले बताए । ‘प्रदर्शन हुने पूर्वसूचना छैन, तर हामी हाईअलर्टमा छौं।’, उनले भने ।
प्रदर्शनलाई उत्तेजित बनाउने भूमिकामा रहेका १०५ व्यक्ति अझै प्रहरी नियन्त्रणमा छन् । उनीहरूमाथि थप अनुसन्धान गर्दै कुन मुद्दा चलाउने भन्ने निक्र्यौल गर्न बाकी रहेको उनले बताए । कतिपय व्यक्ति शकाका आधारमा पक्राउ परेका कारण छुट्न सक्ने उनको भनाइ छ ।
तपाईको बिचार