राजा कसरी गए? कसरी आँउछन?

राजा कसरी गए? कसरी आँउछन?

  • खिलानाथ अधिकारी २०८१ चैत २ आइतबार १२:२०:१२
909

काठमाडौं। गाउँघरमा हामी सबैले स्याल कराएको देखेका छौ । सुरुमा एउटा स्याल पारीबाट कराउँछ। भनाई अनुसार तिनीहरू हरेक साँझ राजाको खोजी गर्छन्। यस क्रममा पहिलो स्यालले  खोजी गर्न सुरु गर्छ र कराउँछ – यो देशको राजा को हो? टाढाबाट अर्कोले जवाफ फर्काउँछ – म हुँ। त्यसपछि त्यो सुन्ने सबैले एकै साथ कराउँछन्– तँ होस त तँ होस त।

यति पछि सबै वन पाखा शान्त हुन्छ। सबै स्याल भोलिपल्ट साँझ सम्मका लागि राजा छानेको ठहर गर्दै चुप लाग्छन् । तर भोलि पल्ट साँझ फेरि यो कराउने काम सुरु हुन्छ। नेपाली भाषामा यसलाई भनिन्छ स्याल हुइयाँ ।

२०६५  साल जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरियो । राजा गद्धिबाट  हटाइएको घोषणा गरियो। धार्मिक परम्परा अनुसार राजा जाने र आउने अर्थात् हट्ने र फर्कने भन्ने कुरा हुँदैन। यस अनुसार नेपालमा राजाले स्थापना गरेको संसद्ले हटायो। राजा खुरुक्क हिँडे। भएको यति मात्र थियो।  त्यो एउटा स्याल ह्ँइयाँ जस्तै थियो। यसरी स्याल हुँइयोको डरले आफै हटेका थिए राजा ।

शाहभन्दा  राणा धर्मात्मा

२००७ सालमा नेपालमा राणा शासन समाप्त भयो। त्यो पछि गठन भएको सरकारमा प्रधानमन्त्री मोहन शमसेर नै थिए। उनलाई पछि एक सफाई मजदुरले तिमि हामी बराबर भयौ,  अब हात मिलाऊ भन्दा चित्त दुखेको थियो रे । त्यसैले उनी प्रधानमन्त्रीबाट हट्न खोजेका थिए र त्यही भएको थियो।

नेपालमा राणा शासन  अन्त्य भएको घोषण भएपछि राणाहरू अन्त्य भएनन् । किन कि उनीहरू शाह भन्दा बढी धर्मात्मा थिए। शास्त्र  अनुसार राजा हुन धर्म चाहिन्छ। तर यो धर्म महेन्द्रका पाला देखी शाहहरूले गुमाउँदै गए। उनीहरूले गौ हत्या, ब्रम्हाहत्या जस्ता काम  गरे । यस कारण शाहहहरुको अवस्था कमजोर तर राणाहरूको अवस्था स्थिर बन्दै  गयो ।

अहिले पनि नेपालको राजनीतिमा राणाहरूको प्रभाव परेको नै छ। देशमा गणतन्त्र स्थापना पछि डा रामवरण यादव र विद्या भण्डारी राष्ट्रपति भए।  पछिल्लो समयमा शक्तिशाली प्रधानमन्त्री बने केपी ओली। उनले संसद विघट गरे । त्यो विरुद्ध सर्वोच्चमा मुद्दा प¥यो। त्यस बेला प्रधानन्यायाधीश थिए –चोलेन्द्र शम्सरे राणा। उनले ओलीको  संसद विघटन बदर गरि  दिए। तर सरकार छोडेनन् । सरकारमा बस्न फेरि संसद विघटन गरे। दोस्रो पटक मुद्दा प¥यो। दोस्रो पटक पनि राणा नेतृत्वको संवैधानिक इजलासले त्यो विघटन पछि बदर गर्दै देउवालाई नै प्रधानमन्त्री बनाउन आदेश थियो। त्यो दिन सम्म पनि देशमा राणाहरू जताबाट भए पनि प्रधानमन्त्री नियुक्ति गर्ने अवस्थामा रहेका प्रस्ट देखियो। १सय तीन वर्ष शासन गरेका राणाको हैसियत अझै प्रस्ट छ। तर लामो समय शासन गरेका शाहहरूको प्रभाव अहिले देखिँदैन।  राणहरु निरंकुश थिए। तर अपराधी थिएनन् । धर्म छोडेनन् ।  शाहहरूले धर्म छोडे । अहिले त्यसैको परिणाम भोग्दै सडकबाट गद्धि फिर्ताको माग गर्नुपरेको  छ।

अहिले सडकमा आफ्नो गद्धि फिर्ता मागेर पूर्व राजाको र्हैसियतमा  आन्दोलनमा देखिएका छन् । राजा कहिल्यै पूर्व हुँदैन। तर माथि उल्लेख गरिए जस्तो स्याल हुइयाँबाटै आफुलाई पूर्व राजाको हैसियतमा सडकमा उतारे। तर नीतिले भन्छ राजा, नङ र  केशले एक पटक आफ्नो ठाउँ छोडेपछि त्यो फेरि  फर्कँदैन।

( खिलानाथ अधिकारी नेपाली कांग्रेस ओखलढुंगाका पुराना आध्यत्मिक नेता हुन् । उनीसँग गरिएको कुराकानीको अंश)

तपाईको बिचार

सम्बन्धित खबर