जनतामा निराशा किन बढ्यो भन्ने प्रश्नमा गगन थापाले के भने ?

जनतामा निराशा किन बढ्यो भन्ने प्रश्नमा गगन थापाले के भने ?

561

काठमाडौं । यतिबेला पोखरामा नेपाल लिटरेचर फेस्टिभल जारी छ । बिहीबारदेखि सुरु भएको फेस्टिभल आइतबारसम्म चल्नेछ ।

शुक्रबारको ‘निराशा : व्याख्या र वास्तविकता सत्र’ मा सहजकर्ता थिए कान्तिपुर दैनिकका प्रधानसम्पादक उमेश चौहान । संवादमा उपस्थित सहभागीहरूले पनि प्रश्न सोधेका थिए । संवादमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, टिच फर नेपाल फेलोसिपकी सहसंस्थापक एवं प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठ र सोसल साइन्स बहाःका सहनिर्देशक जीवन बानियाँ थिए ।

सहजकर्ता चौहान र सहभागी युवाहरूको प्रश्नको जवाफ दिँदै थापाले दुईतिहाइ नजिकको सरकार भएर पनि नतिजा दिन नसक्दा जनतामा निराशा बढेको टिप्पणी गरे । सरकारले समाज र सडकमा देखिएको निराशा चिर्न परिणाममुखी काम गर्न नसक्नु अहिलेको कमजोरी रहेको थापाले बताए । ‘निराशालाई चिर्नका लागि ‘एक्सन’ र ‘रिजल्ट’केन्द्रित हुनुपर्ने थियो’, उनले भने, ‘तर काममा भन्दा कुराहरूमा मजाले मस्ती छ, मसँग संख्या छ, दुईतिहाइ छ भनेर सरकारको नेतृत्व ढुक्क देखिन्छ । तर, सरकारसँग ‘सेन्स अफ अर्जेन्सी’ देखिँदैन ।’

सरकारमाथि प्रश्न गरिरहँदा आफू पन्छिएर भाग्न नमिल्ने पनि थापाले बताए । ‘मैले प्रश्न गरिरहँदा सरकारको कमीकमजोरीबाट आफैँ पनि भाग्न मिल्दैन’, उनले भने । आफू सरकारमा संलग्न नभए पनि जनताबाट उठाइएका प्रश्नका सवालमा भाग्न नमिल्ने उनको भनाइ थियो । ‘सरकारको काम र नतिजा नदेख्दै गर्दा मेरो पनि प्रश्न नै प्रश्न छ । तर, यसको अर्थ मैले यहाँ प्रश्न गरेँ, यो गरेँ भन्ने होइन । म सरकार सञ्चालको जिम्मेवार ठाउँमा भएकाले मेरो प्रत्यक्ष संलग्नता भए पनि नभए पनि यसका कमजोरीबाट भाग्नु हुँदैन, भाग्दिनँ’, उनले भने, ‘यसको सबै दोष मैले यहाँबाट भोगेर जानुपर्छ ।’

उनलाई दर्शकले प्रदेश संरचना र सरकारप्रति दिनदिनै निराशा बढिरहेको प्रश्न गरेका थिए । जवाफमा गगनले त्यति दुःख गरेर संघीयता ल्याएपछि प्रदेशलाई जति बलियो बनाउनुपथ्र्यो, त्यो गर्न नसकिएको पनि बताए । उनले अहिलेको एउटा दलले बहुमत ल्याउनै नसक्ने अवस्थामा सुधार हुनुपर्ने पनि तर्क गरे । ‘कुनै दलले बहुमत ल्याउन नसक्ने कुरामा सुधार गर्नुपर्छ । अर्को कुरा प्रदेशलाई अधिकार आउनुपथ्र्यो । प्रदेश बलियो हुनुपथ्र्यो । यति दुःख गरेर ल्याएको व्यवस्थामा प्रदेशमाथि धेरै आक्रमण भइरहेको छ’, उनले भने, ‘केन्द्रको अधिकार प्रदेशमा ल्याउने कुरामा मतलब नै छैन । अधिकार नहुँदा पनि प्रदेशप्रति निराशा व्यक्त भइरहेको छ ।’ थापाले प्रदेश संरचनालई ‘स्केप गोट’ बनाउन खोजिएको पनि टिप्पणी गरे ।

टिच फर नेपाल फेलोसिपकी सहसंस्थापक एवं प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले निराशाकै बीच आशा रहेको बताइन् । ‘चुनौती छैन भन्न खोजेको पनि होइन फेरि आशा भनेको एकदमै अन्धो आशा भन्न खोजेको पनि होइन । समुदायमा आशा पनि छ निराशा पनि,’ उनले भनिन् ।

सोसल साइन्स बहाःका सहनिर्देशक जीवन बानियाँले नेपाल मात्र निराशा रहेको देश नभएको बताए । ‘नेपाल मात्र त्यस्तो देश होइन जहाँ निराशा छ । निराशाको रेट कति छ ? कारक तत्व के हो ? भन्ने कुरामा चाहिँ फरक हुन सक्छ । नेपालको सन्दर्भमा रोजगारी, राजनीति नै रहेको विभिन्न अध्ययनले पनि देखाइरहेको छ,’ उनले भने ।

तपाईको बिचार

सम्बन्धित खबर