सांसदहरुद्वारा पाथिभरामा केबलकार निर्माण तत्काल रोक्न माग

सांसदहरुद्वारा पाथिभरामा केबलकार निर्माण तत्काल रोक्न माग

575

काठमाडौँ । सांसदहरूले पाथिभरा क्षेत्रमा जनताको इच्छाविपरीत केबलकार निर्माण शुरु गरिएको उल्लेख गर्दै उक्त कार्य तत्काल रोक्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा आज सांसदहरूले जनताले केबलकार निर्माणको विरोध गर्दा झडपको वातावरण सिर्जना भएको र यसले समाधानको आवश्यकता भएको कुरा सरकारको ध्यानमा ल्याएका छन्।

सांसद राजेन्द्रप्रसाद लिङ्देनले भने, “जनताको चाहना बुझ्न नखोज्दा पाथिभारा रणमैदानमा परिणत भएको छ। यसका कारण एक व्यापारीको स्वार्थ पूर्ति गर्न समाजमा जनता लडाउने काम भएको छ।” उनले सरकारसँग प्रश्न गर्दै भने, “सरकार किन अनदेखा गर्दैछ?मन्त्री स्तरको वार्ता गर्न सरकार तयार छैन?”

सांसद लिङ्देनले यो योजना सरकारी स्तरबाट पाथिभरा क्षेत्र व्यापारीको हातमा दिने योजना भएको आरोप लगाउँदै भने,सुरुमा कञ्चनजंघा संरक्षण क्षेत्रबाट पाथिभारालाई अलग गरियो र त्यसपछि व्यापारीलाई केबलकार बनाउन दिन निर्णय गरियो।

सांसद योगेश भट्टराईले ताप्लेजुङ जिल्लास्थित पाथिभरा मुकुलुङ क्षेत्रमा केबलकार निर्माणका विषयमा केही दिनदेखि तनाव सिर्जना भइरहेको उल्लेख गर्दै वार्ता र संवादमार्फत यस समस्या समाधान गर्नुपर्ने कुरा उठाए। उनले भने, “केबलकार बनाउने उचित हो वा होइन, यो वार्ता र संवादबाट टुङ्ग्याउनुपर्ने हो।”

सांसद तोसिमा कार्कीले भने, “केबलकार निर्माण विवादरहित बनाउनुपर्ने छ। सरकारले बल प्रयोग गरेर होइन, वार्ताबाट समाधान खोज्नुपर्छ।” उनले सरकारसँग आग्रह गर्दै सो आयोजना तत्काल स्थगन गरेर सरोकारवाला सबैसँग संवाद गरेर समाधान खोज्नुपर्ने बताए।

सांसद माधव सापकोटाले सुशासन कायम गर्न नसक्दा नेपाल सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिष्ट’मा पुगेको भन्दै आलोचना गरे। उनले थप भने, “राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङको कार्यकक्षमा दुव्र्यवहार गर्नेमाथि कारवाही नभएको छ। सरकारको ध्यानाकर्षण गराउँछु।”

सांसद तारा लामाले कञ्चनपुरको बेलडाँडीमा बस्ती हटाउने नाममा स्थानीय प्रशासनबाट जनता घाइते भएको आरोप लगाउँदै सरकारसँग घाइतेको उपचार र दोषीमाथि कारवाहीको माग गरे।

केआइआइटी विश्वविद्यालयमा भएको घटनाप्रति भत्सर्ना

सांसद पदम गिरीले भारतको उडिसा राज्यको केआइआइटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको निधनप्रति दुःख व्यक्त गर्दै पीडितले आफूलाई मानसिक र शारीरिक यातना दिइरहेको र सुरक्षा चाहिएको भन्दै वेवास्ता गरिएकोप्रति भत्सर्ना गरे। उनले थप भने,यो घटनाप्रति आक्रोशित नेपाली विद्यार्थीहरूले विरोध गर्दा विश्वविद्यालयले स्थानीय गुण्डा र सुरक्षागार्ड लगाएर आफ्ना सामाना समेत लिन नपाइकन रेलवे स्टेसनमा पुर्याउने काम गरेको छ।

सांसद ईश्वरीदेवी न्यौपानेले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाले दिएको अभिव्यक्तिलाई लिएर बहस भइरहेको उल्लेख गर्दै,लोकतान्त्रिक गणतन्त्रमाथिको प्रहार सैह्य नभएको हो, भने।

सांसद रघुजी पन्तले भारतको उडिसा राज्यको केआइआइटी विश्वविद्यालयमा घटित घटनापछि प्रधानमन्त्री र नेपाल सरकारको हस्तक्षेपले केही समस्या समाधान भएपनि पूर्णरुपमा समाधान नभएको बताए। उनले भने,एक हजार ५०० विद्यार्थीमध्ये पाँच सयभन्दा बढी विद्यार्थी नेपाली विद्यार्थी स्वदेश फर्किरहेका छन्। नेपाललाई होच्याउने कार्य निन्दनीय हो।

सांसद महेश बस्नेतले मेची राजमार्गमा दुर्घटनाहरू बढ्दै गएको र सडकको चाप बढेकाले यसलाई फराकिलो बनाएर सुरक्षित बनाउन माग गरे।

सांसद रामप्रकाश चौधरीले सर्लाहीको उत्तरी क्षेत्रमा जंगली हात्तीको समूहले आतङ्क मचाइरहेको र व्यवसायीक केराखेती, मकैखेती नष्ट गरेको जानकारी गराउँदै क्षतिपूर्तिका लागि सरकारसँग माग गरे।

तपाईको बिचार