प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा एक भिडिओ मन्तव्य जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले यस्तो अपिल गरेका हुन् । राष्ट्रको हितका लागि आफूले त्याग गरेको, तर यो त्यागलाई कमजोरी नसम्झिन उनले सुझाव दिएका छन् ।
‘राष्ट्रको हितमा हामीले उदारता राख्दै आयौं । हामीले जनताको भलो होस् भनेर आफ्नो ओहदा र सुखसुविधालाई पनि त्याग गरेका हौं । त्यागले कसैको कद सानो हुने होइन । त्यस्तो भावलाई कसैले पनि कमजोरी ठान्नुहुँदैन’, पूर्वराजाले भनेका छन् ।
यस्ताे छ पूर्वराजा ज्ञानेन्द्रकाे मन्तव्य
जनता र राजा मिलेर प्रजातन्त्र सवल बनाउन लागिपरेको इतिहास साक्षी छ । त्यसैले प्रजातन्त्रका निम्ति जीवनदान दिने ज्ञात-अज्ञात शहीदहरु र प्रजातन्त्रका लागि क्रियाशील सबै पात्रप्रति हाम्रो उच्च सम्मान छ । प्रजातन्त्र आजको युगको उत्तम शासन पद्धति हुनुपर्थ्यो । आमजनताको मन, मगज र मतका आधारमा देशको विधि, व्यवस्था तथा मान्यताअनुसार राज्य सञ्चालन गर्ने सर्वमान्य आदर्श पनि हुनुपर्थ्यो । राष्ट्रभित्रका हरेक वर्ग, समूह वा व्यक्तिको हक-अधिकारको संरक्षण गर्दै प्रतिष्ठा तथा प्रगति अघि बढाउने प्रजातन्त्र सबैको प्रिय व्यवस्था हुनुपर्थ्यो ।
प्रजातन्त्रको कुरा गर्दा हामीले यसलाई वादविवाद, द्वन्द्व, विग्रह, विरोध, प्रतिरोधको अर्थले मात्र बुझ्नु हुँदैन । त्यस प्रणालीलाई हामीले समाजमैत्री र जनहितैषीको रुपमा पनि हेर्नुपर्छ । सुन्दर शब्द, आकर्षक आदर्शले मात्र प्रजातन्त्र सार्थक हुने होइन । कर्म र व्यवहारमा प्रजातन्त्रलाई उतार्ने सही प्रजातान्त्रिक आचरण हुनुपर्छ । सबैको पहिचान र अस्तित्व सुरक्षित हुनुपर्छ । निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो बनाउँदैन । पक्ष–विपक्षको अहंकार आफ्नो स्वार्थ र हठवादले प्रजातन्त्र गतिशील बनाउन सक्दैन ।
आज देशको इतिहास मेटिँदै गएको छ । नेपालको अस्तित्व नासिँदै गएको छ । नेपालका होनहार जनशक्ति दिनहुँ ताँती लागेर बाहिरिँदै गएका छन् । नेपालीको पसिना आफ्नो माटोमा होइन, अन्तै पोखिइरहेको छ । जन्मँदै नेपालको शीरमा हजार होइन, लाखको ऋणभारको बोझ छ । कलकारखाना तथा व्यापार-व्यवसाय धराशायी बन्दैछ । हुँदाहुँदा हाम्रा शिक्षालयहरुमा समेत शिक्षक र विद्यार्थीहरु पातलिँदै गएका छन् । ‘नेपालको पद्दति, नीति र गतिविधि ठीक छैन, यहाँ बसेर केही हुँदैन’- श्रम, सीप, चेतना र ज्ञान भएका हाम्रा नागरिकमा त्यस प्रकारको भाष्य चलिरहेको छ । त्यस्ता कुराले प्रजातनन्त्रलाई शोभनीय बनाउँदैन ।
प्रजातन्त्र आशा जगाउने प्रणाली हुनुपर्छ । जनताको भरोषा बढाउने प्रणाली हुनुपर्छ, तर तीन दशकयताको हाम्रो स्थिति यस्तो छैन । आमजनताको मुहारमा मुस्कान ल्याउने्, जनतालाई खुशी र सुखी बनाउने सबैले खोजेको र हामीले रोजेको पनि त्यही प्रजातान्त्रिक व्यवस्था हो । व्यवस्था बदलियो भन्नेहरुले अवस्था राम्ररी बदल्न नसक्नु दुःखद कुरा हो ।
राष्ट्रको हितमा हामीले उदारता राख्दै आयौं । हामीले जनताको भलो होस् भनेर आफ्नो ओहदा र सुखसुविधालाई पनि त्याग गरेका हौं । त्यागले कसैको कद सानो हुने होइन । त्यस्तो भावलाई कसैले पनि कमजोरी ठान्नुहुँदैन । कतै कुनै पन र पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाशा हो । हाम्रो त्यागको अर्थ र आशय पनि त्यही नै हो । हाम्रो इतिहासलाई नाश गरेर र पहिचानको अपमान गरेर हामी उँभो लाग्दैनौं भन्ने कुराको हेक्का राखेर अघि बढौं ।
विगतका कमी-कमजोरी तथा आफ्नो प्रकृति र संस्कृतिविरुद्धका त्रुटि सच्याएर अघि बढ्ने चेतना हामीलाई प्राप्त होस् । देशका लागि हाम्रो, समर्पण र निष्ठा सदैव हुनेछ । राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्छ । हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौं । अब नेपालको उन्नतिका लागि हामीबाट अरु के-के त्याग गर्नुपर्ने हो, हामी तयार छौं । अब समय आयो । राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरुलाई आह्वान गर्छौं ।
तपाईको बिचार