कार्यक्षमता बढाउन मातहतका विभाग र निकायलाई सञ्चारमन्त्री गुरूङको निर्देशन

कार्यक्षमता बढाउन मातहतका विभाग र निकायलाई सञ्चारमन्त्री गुरूङको निर्देशन

679
Suman Chandra Rauniyar DOIB

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले मन्त्रालय मातहतका विभाग र निकाय प्रमुखलाई कार्य क्षमता बढाउन निर्देशन दिएका छन् ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरूङले मन्त्रालयको पुँजीगत खर्च बढाउनेतर्फ जोड दिनुपर्ने बताए । पुँजीगत खर्च कम हुनुका कारण कानुनी र नीतिगत बाधा पनि एक भएको उनको भनाइ छ ।

मन्त्रालयले केही विषयमा अत्यन्त राम्रो उपलब्धी हासिल गरेको र केहीमा धेरै मिहेनत गर्नुपर्ने मन्त्री गुरूङको जोड थियो । उनले सम्बन्धीत निकाय र विभागले पनि आफ्नै बलबुतामा कार्य सम्पादन बढाउन सक्ने धारणा राखे ।

मन्त्री गुरूङले समस्या भए पहिचान गरी समाधान गर्ने चासो देखाउनुपर्नेमा जोड दिए । “तीन दिनभन्दा बढी टेबलमा फाइल नराख्नु, समस्या नै भएमा बढीमा ७ दिन राख्नु, त्योभन्दा बढी भए कारण खुलाउनुस्,” मन्त्री गुरूङले भने। उनले प्रशासनिक कार्यशैली कमजोर देखिएको उल्लेख गर्दै केही नीतिगत अस्पष्टताले काममा बाधा पुगेको बताए ।

मन्त्री गुरूङले यसै वर्ष काठमाडौँमा आइटी पार्क निर्माण गर्ने, गोरखापत्रको भवन निर्माण गर्ने, एआईमार्फत उद्यमशीलतामा जोड दिने, सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी) लाई बजेट व्यवस्थापन गर्ने लगायतका योजना रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठले पुँजीगत खर्च गर्न नसक्नु मन्त्रालयको मात्रै नभइ सरकारकै मुख्य समस्या रहेको उल्लेख गरे । “एकातिर बजेट छैन भन्नु र अर्कोतिर खर्च गर्नै नसक्नुले विकासमा चुनौती थपिएको छ”, उनले भने, “खर्च गर्नतर्फ सबैले ध्यान दिन आवश्यक छ । अनि मात्रै विकास हुन्छ ।”

बैठकमा मन्त्रालयका सह–सचिव कोशहरि निरौलाले मन्त्रालयको आर्थिक वर्ष २०८१र२०८२ को दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

मन्त्रालयको दोस्रो त्रैमासिक प्रगति समीक्षा मूल्याङ्कन गर्दै मन्त्रालयका सचिव राधिका अर्यालले केही महत्त्वपूर्ण काम सम्पादन भएको र केहीमा अत्यन्त मिहनेत गर्नुपर्ने टिप्पणी गरे । “स्रोत र साधनअनुसार उपलब्धी भए पनि यतिमै चित्त बुझाउने स्थिति छैन”, उनले भने, “हामीले थप समस्या पहिचान गरेर समाधानतर्फ सबै कर्मचारी जिम्मेवारीपूर्ण लाग्नुपर्नेछ ।”

तपाईको बिचार