काठमाडौं। नेपाल निजामती कर्मचारी सङ्गठन स्थापनाभएपछि पहिलो पटक नयाँ रेकर्ड कायम गर्दै महिला नेतृत्व स्थापित हुने भएको छ। सङ्गठनको स्थापना कालको लामो समयपछि केन्द्रीय अध्यक्षमा महिला नेतृत्व स्थापित हुन लागेको हो। यसका लागि वर्तमान उपाध्यक्ष भवानी दाहालले अध्यक्षको उम्मेदवारी दिने भएकी छन् ।
यसभन्दा पहिला पनि बिभिन्न सङ्गठनमा रेकर्ड ब्रेक गर्दै महिलाहरू अध्यक्ष भएका छन् । यस अघि अनेरास्ववियुमा केन्द्रीय अध्यक्ष दुई पटक महिला निर्वाचित भएर रेकर्ड ब्रेक गरेका थिए। त्यसै गरी यस पटक भएको नेपाल पत्रकार महासङ्घको निर्वाचनमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित भएकी छन् । प्रेस चौतारीले अगाडि सारेकी उम्मेदवार निर्मला शर्मा अहिले नेपाल पत्रकार महासङ्घको अध्यक्ष छन् ।
कर्मचारी संगठनलेपनि यस पटक महिला अध्यक्ष पाउने भएको छ। यसका लागि उपाध्यक्ष भवानी दाहालले उम्मेदवारी घोषणा गरिसकेकी छन् ।
नेपाल निजामती कर्मचारी सङ्गठनको १२ औँ महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदै छ । देशैभरका ८०० भन्दा बढी प्रतिनिधि सहभागी हुने उक्त महाधिवेशनको समुद्घाटन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ । महाधिवेशनबाट अध्यक्षका रूपमा नयाँ नेतृत्व, को निर्वाचित हुने हो भन्ने आम जनचासो रहेको छ । यसैबिच नेपाल निजामती कर्मचारी सङ्गठनको हाल प्रथम उपाध्यक्ष समेत रहेकी भवानी दाहालको तर्फबाट अध्यक्ष पदमा सशक्त उम्मेद्वारी घोषणा भएको सार्वजनिक भएको छ। दाहालले आफू अध्यक्ष भएपछि कर्मचारीको हकहितको पक्षमा कडा रूपमा उत्रने प्रतिक्रिया दिइन् ।
उनले भनिन् – सर्वप्रथम अध्यक्ष पदमा मेरो उम्मेद्वारी घोषणा भएको तपाइहरूको मिडिया मार्फत पनि सार्वजनिक रूपमा जानकारी गराउन चाहन्छु । सङ्गठनको अध्यक्ष हुन आवश्यक पर्ने सम्पूर्ण योग्यताहरू पूरा गरेर नै मेले उम्मेद्वारी दिएकी हुँ । यो उम्मेद्वारी मेरो व्यक्तिगत चाहनाले मात्रै घोषणा भएको होइन । व्यक्तिका हिसाबले मेरो चाहना त हुने नै भयो तर सङ्गठनमा मैले यस अघि केन्द्रीय समितिको सदस्य हुँदै सङ्गठनको सचिव र उपाध्यक्षका रूपमा दुई कार्यकाल आफ्नो जिम्मेवारी उचित ढङ्गले पूरा गरिसकेकी छु । तत्पश्चात् मात्रै मैले अहिले आएर उम्मेद्वारी दिएकी हुँ । यस अघि नेतृत्वमा आउनु हुने सबैलाई सङ्गठनको हितमा मैले नजिकबाट निरन्तर सहयोग गर्दै आएकी छु । मूलतः मेरो उम्मेद्वारी राष्ट्रसेवक कर्मचारीको प्रतिष्ठा प्रवर्धन गर्नका लागि हो र राष्ट्रिय ट्रेड युनियनको हक अधिकार थप सुरक्षित तथा सुनिश्चित गर्नका लागि हो । निजामती कर्मचारीको मनोबल उच्च बनाउन, सेवाग्राही मैत्री कानुनको निर्माण गर्न र राष्ट्रसेवक कर्मचारीको सामूहिक हक, हितका लागि संविधानले परिकल्पना गरेको लक्ष्य अनुरूप कर्मचारी सङ्गठनलाई परिचालित गर्नका लागि हो ।
उनी यो समेत गरेर दुई कार्यकाल उपाध्यक्ष बनेकी थिइन् । यस बिषयमा उनी भन्छिन‘ मैले सङ्गठनको हितमा सहमतिका लागि कम्प्रोमाइज गरेकी हुँ । अध्यक्ष बन्न योग्य भएर पनि मैले त्याग गरेँ । पहिलो महिला अध्यक्षका रूपमा संगठनले इतिहास बनाउनु पर्छ भनेर मलाई थुप्रै कर्मचारी साथीहरूले सल्लाह दिनुभएको पनि थियो तर मैले सङ्गठनमा सहमति हुन्छ भने म बाधक बन्दिन भनेर उहाँसँग प्रतिश्पर्धा गरिनँ । त्यो मेरो कमजोरी थिएन । त्याग थियो । सङ्गठनको हितमा थियो ।
उनी अगाडि थप्छिन्–मैले सङ्गठनलाई केन्द्रमा राखेर निरन्तर सक्रिय हुँदै आएको कुरा सङ्गठनका सबै साथीहरूलाई थाहा नै छ । मैले व्यक्तिगत जीवनलाई कम महत्त्व दिएर सङ्गठनमा काम गर्दै आएकी हुँ । मैले एउटा राष्ट्रसेवक कर्मचारी र सङ्गठनको पदाधिकारी रूपमा आफ्नो भूमिका सही ढङ्गले निर्वाह गरेको भनेर धेरै अग्रजहरू र सङ्गठनका कर्मचारी साथीहरूबाट सकारात्मक प्रतिक्रिया पाएकी छु । सङ्गठनको हितलाई केन्द्रमा राखेर गर्नुपर्ने मेरा केही काम र एजेन्डाहरू छन् । सुशासनका लागि कर्मचारी सङ्गठनको अपरिहार्यता छ यो मेरो पहिलो स्पष्ट वैचारिक पक्ष हो ।
कुराकानीका क्रममा उनले आफ्नो भावी योजना समेत संक्षिप्तमा सुनाइन।
उनी भन्छिन् – सुशासनका लागि कर्मचारी सङ्गठनको अपरिहार्यता छ र यसको संरक्षण र गरिनुपर्छ । सार्वजनिक सेवा प्रवाहको सुनिश्चितता एवम् प्रभावकारी र गुणस्तरीयता प्रदान गर्नुपर्छ, ट्रेड युनियन अधिकारको सुनिश्चितता गर्नुपर्छ,
आधिकारिक ट्रेड युनियनको यथाशीघ्र निर्वाचनको घोषणा गर्नुपर्छ ।
त्यसै गरी दाहाल अगाडि थप्छिन् –सङ्घीय निजामती सेवा ऐन यथाशीघ्र जारी हुनुपर्छ, समायोजन प्रक्रियाबाट नमिलेका विषयमा गम्भीर ध्यान दिई कर्मचारीको उच्च मनोबल कायम गर्नुपर्छ , स्वास्थ्य सेवामा रहेको विभेदकारी व्यवस्थाको अन्त्य गर्नुपर्छ, स्थानीय तहमा रहेका असन्तुष्टिको निरूपण गर्नुपर्छ, ।
तपाईँको विजय कत्तिको सुनिश्चित देख्नुहुन्छ ? सहमतिमा हुन्छ कि चुनावबाट ? भन्ने एक अर्को प्रश्नको उत्तरमा दाहाल भन्छिन् –मेरो सङ्गठनप्रतिको लगाव, समर्पण, त्याग र निरन्तर सक्रियताले गर्दा विजय निश्चित छ । यसमा सहमतिकै बाटो खोजिएको हो । जिल्ला, प्रदेश र विभागीय सबै क्षेत्रमा स्वसहमतिबाट नेतृत्व छनोट भएको अवस्थामा केन्द्रीय महाधिवेशन पनि सहमतिबाटै गर्ने हाम्रो प्रयास हो । कथंकदाचित सहमति हुन सकेन भने निर्वाचन हुन्छ । निर्वाचनका लागि पनि म तयार छु । जो कोहीसँग प्रतिश्पर्धा गरेर म विजयी हुन सक्छु । महिलालाई मान्छे नदेख्ने पितृ सत्ताको सङ्कुचित मनोविज्ञानले यस पटक काम गर्नेवाला छैन । म साझा उम्मेदवार हो । महिला भएको हिसाबले महिला साथीहरूले इतिहास रचिने विश्वास व्यक्त गर्नुभएको छ । यत्ति मात्र मेरो विजयको आधार पक्कै होइन । सबै योग्यता, क्षमता, निरन्तरता, सक्रियता, कर्तव्यनिष्ठता, पारदर्शिता हासिल गरेर नै म उम्मेदवारका रूपमा खडा भएकी हुँ । मैले विजयी भएको खण्डमा सबै पक्षलाई समेटेर अगाडि बढ्ने अठोट लिएकी छु । गुटगत साङ्गठनिक अभ्यासमा मलाई रुचि छैन । एकता र सहमति नै मेरो रुचि र स्वभाव हो।
अध्यक्षमा अरु पनि त उम्मेदवार हुनुहुन्छ होला ? कोही सिनियर उम्मेदवार अध्यक्ष बन्नु भयो भने तपाईँले छोड्नुहुन्छ कि छोड्नु हुन्न ? भन्ने एक प्रश्नमा दाहालको उत्तर छ ‘म पदलोलुप छैन । सिनियर उम्मेदवार अध्यक्षमा दाबी गर्न आए म छोड्न सक्छु तर साङ्गठनिक पद्धति अनुसार म भन्दा सिनियर अरु कोही हुनुहुन्न । मैले आफूले आफैँलाई सिनियर घोषणा गरेको चाहिँ होइन । सङ्गठनले नै दुई पटक उपाध्यक्ष विश्वास गरेर अध्यक्ष पछिको मलाई नै सिनियर उपाध्यक्षका रूपमा व्यवहारिक कार्यसम्पादन गर्दै आएको हो र अग्रज र सङ्गठनका साथीहरूको सल्लाह लिएर नै मैले अध्यक्षको उम्मेद्वारी घोषणा गरेकी हुँ । त्यसैले म अहिले सबै हिसाबले नेतृत्वका लागि तयार भएकी हुँ ।
तपाईको बिचार