बागलुङ । जिल्ला कारागारमा आमासँग बालबालिका बसिरहेका छन् । बागलुङको महिला कैदीबन्दीका दुई बालबालिका पनि कारगारमा बस्न बाध्य भएका हुन । यसरी आमासँगै कारागारमा बस्न बाध्य बालबालिका चार वर्षीय बालक र दुई वर्षकी बालिका हुन ।
इमेज बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष लक्ष्मीसेन सुनार सहकारी ठगी मुद्दामा २०८० माघ १२ गते काठमाडौँमा पक्राउ परेका थिए । सुनारलाई जिल्ला अदालतले माघ १५ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । सुनार जिल्ला कारागार चलान भएको दुई महिनापछि उनका ४ वर्षीय छोरा पनि कारागार पुगेका हुन । छोराको स्याहारसुसार र संरक्षण गर्ने कोही मान्छे नभएपछि सुनारले पछिल्लो १० महिनादेखि छोरालाई आफूसँगै कारागारमा राख्दै आएका छन् ।
कर्तव्य ज्यान कसुरमा आमा तनसरा विक पुस ९ गते पुर्पक्षका लागि कारागार चलान भएपछि उनीसँगै उनकी २ वर्षीया छोरी कारागारमा बस्दै आएकी छन् । सुनार र तनसरा दुवैको मुद्दा कहिले फैसला हुन्छ भनेर अहिलेसम्म टुङ्गो लागेको छैन ।
पाँच वर्षभन्दा कम उमेरका बालबालिका आमा थुनामा रहेको समयमा घरमा हेरचाह र संरक्षण गर्ने व्यक्ति कोहीपनि नभएपछि आमासँगै राख्न पाउने व्यवस्थाअनुसार उनीहरुलाई कारागारमै राखिएको जिल्ला कारागारका प्रशासक धीरेन्द्र पन्तले बताए ।सोही व्यवस्थाअनुसार ती बालबालिकाहरु कारागारमा बसेका हुन ।
तपाईको बिचार