ओखलढुंगा । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाको भँडारे खोलामा बिरामी बोकेको सुमो दुर्घना हुँदा एकै परिवारका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । खोटाङबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको सुमो आज बिहान ६ः३० बजेको समयमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।
दुर्घटनामा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र उनकी बहिनी ४५ वर्षीया तारा गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय ओखलढुंगाले जानाएको छ ।
ना १ ज ६४२१ नम्बरको सुमो खोटाङ जिल्लाको केपीलासगढी गाउँपालिकाबाट उपचारको लागि बिरामी लिएर काठमाडौं जाँदा दुर्घटना भएको हो । राति नै दुर्घटना भएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् । बिहान करिब ६ः३० बजेको समयमा सुमो दुर्घटना भएको अवस्थामा स्थानीयले भेटेर प्रहरीलाई जानकारी दिएका थिए । चालक सुनसरी जिल्लाको इनरुवा निवासी वर्ष २२ का अनिल पण्डित भने फरार छन् ।
बिरामी माया गुरुङलाई उपचारका लागि छोरा र बहिनीले काठमाडौं लिएर हिँडेका थिए । दुर्घटनाबाट तीनै जनाको घटनास्थलमै मृत्यु भएको छ । सुमोमा चालकसहित ४ जना मात्रै सवार थिए । घटनाको बारेमा थप विवरण आउन बाँकी छ । चालकको खोजी र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तपाईको बिचार