आज छुट्लान त रवि लामिछाने ?

आज छुट्लान त रवि लामिछाने ?

577

काठमाडौ । सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा आज तेस्रो दिन थुनछेक बहस हुँदैछ । उनको आज तेस्रो थुनछेक बहस हुनेभएपछि अदालतले कस्तो आदेश गर्ला त भन्ने आम चोसो बढिरहेको छ । बुधबार ५ नं इजलासमा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा हाजिर भएपछि अदालतले बयान सकेर उनलाई परिवार र प्रतिवादीका वकिलको जिम्माजमानीमा छाडेको थियो ।
बिहीबार र शुक्रवार सरकारी वकिल र तीन जना रवि पक्षका वकिलले बहस गरेका छन् । अब रवि पक्षबाट बहसका लागि नाम टिपाएका ५ जना वकिलले बहस गरेपछि सरकारी वकिलले जवाफी बहस सकेर मात्रै न्यायाधीशले फैसलाको निर्णय गर्नेछन् ।
बुधवारदेखि मुद्दा हेर्दाहेर्दैमा राखेर लामिछानेलाई श्रीमती र उनकै पक्षका कानुन व्यवसायीको जिम्मामा छोड्ने आदेश भएकाले उनी हिरासत बाहिरै बसेका छन् । लामिछानेलाई श्रीमती निकिता पौडेल र उनका कानुन व्यवसायी नारायणदत्त कँडेलको जिम्मा लगाएको भन्दै सरकारी वकिलले वहसमा प्रश्न उठाएका छन् ।
प्रहरीले सुप्रिम सहकारी रकम ठगीमा पहिलो चरणको अनुसन्धान गरेर गत वैशाख २ मा लामिछाने, जोशीबाहेकका २८ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । लामिछानेसहितका १४ जनाविरुद्ध गत असोज ५ मा पूरक जाहेरी परेपछि इलाका प्रहरी कार्यालयले अनुसन्धान सकेर दर्जन बढी तथ्य र प्रमाणसहित पूरक अभियोग दर्ता गर्न सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको थियो । दोस्रो चरणको अनुसन्धानपछि पहिलो चरणमा प्रतिवादीलाई पनि कसुर र बिगो थपेर प्रतिवादी बनाइएको छ ।

पूरक अभियोग पत्रमा जीबी राई, लामिछाने र जोशीका साथै कुमार रम्तेल, शिवबहादुर गुरुङ, लक्ष्मीप्रसाद पौडेल, दीपक लामा, अनन्तबाबु राई, श्रीवल्लभ नेपाल, शिवप्रसाद पौडेल, वीरबहादुर रानाभाट, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जनलाई प्रतिवादी बनाइएको छ ।
विज्ञान राई, नरेश जीसी, भूपेन्द्र राई, देवेन्द्रबाबु राई, सागर केसी, नवीन अछामी, असरफ अलि सिद्दिकी र हेमन्त अधिकारी पनि प्रतिवादी छन् । उनीहरूमध्ये कुमार रम्तेल र शिवबहादुर गुरुङ पहिले नै पक्राउ परेर पुर्पक्षा लागि कारागारमा छन् ।

कात्तिक २ मा पक्राउ परेका लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीमा ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा ६० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । दुवै अदालतले ‘कसुदार छैनन् भन्ने अवस्था नदेखिएको’ भन्दै उनीसँग धरौटी माग गरेका थिए ।
जिल्ला सरकारी वकिलको कार्यालयले सुप्रिम सहकारीको रकम संगठित ठगीमा गत आइतबार २२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा पूरक अभियोगपत्र दर्ता गरिको थियो । पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ बिगो मागदाबी गरिएको छ । यही मुद्धामा बयान दिन मंगलबार रवि भैरहवा प्रस्थान गरेका थिए । उनको आजै मुद्धा टुङ्गो लाग्ला कि नलाग्ला आजको बहसपछि थाहा हुनेछ ।

तपाईको बिचार