पाँचखालमा ऐतिहासिक पुरातात्विक सम्पदा उत्खनन गरिने

पाँचखालमा ऐतिहासिक पुरातात्विक सम्पदा उत्खनन गरिने

555
काभ्रेपलाञ्चोक । पुरातत्व विभागले पाँचखाल नगरपालिका–७ स्थित पुरातत्वस्थलमा रहेका प्राचीन सम्पदा क्षेत्रमा यस वर्ष उत्खनन गर्ने भएको छ । विभागले प्रारम्भिक चरणमा विसं २०७७ चैतमा गरेको ‘जियोफिजिकल सर्भे’ (भू–भौतिकी सर्वेक्षण)का आधारमा करिब चार वर्षपछि उत्खनन गर्ने जनाएको हो ।
विभागको पहलमा बेलायती विज्ञ समूहद्वारा उक्त स्थलमा गरिएको सर्भेको प्रतिवेदनअनुसार पुरातत्विक सम्पदाको प्रचुर सम्भावना देखिएकाले पुनःजियोफिजिकल सर्भे गरिनुपर्ने जनाइएको थियो । विज्ञ समूहको उक्त सर्भेको प्रतिवेदन २०७८ सालमा विभागमा आएको थियो । प्रतिवेदनमा लिच्छवीकालीन र मध्यकालीन सम्पदा देखिएपछि पुनःसर्भे गरी उत्खनन गर्न सुझाव दिइएको थियो ।
प्रतिवेदनमा पुनःसर्भे गर्न सुझाइएपछि विभाग र पाँचखाल नगरको समन्वयमा सर्भे र उत्खनन गर्न छलफल भएको विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए । उनले भने, “नगरपालिकासँग थप प्रक्रियाका लागि समन्वय भइरहेको छ, उक्त स्थानका जमिनप्रति हो वा व्यक्तिगत छानबिन गर्नुपर्छ, यसका लागि थप पहल नभए पनि अब गर्नेछौँ ।”
बेलायतको विज्ञ टोलीसहित विभागका पुरातत्वविद्ले काभ्रेपलाञ्चोकको पाँचखाल नगरको विभिन्न स्थानमा गरिएको सर्भेमा ऐतिहासिक पुरातत्व सम्पदाको प्रचुर सम्भावना देखिएपछि बजेट तथा योजना बनाई चालु आर्थिक वर्षभित्र पुनःसर्भे गरिने जनाइएको थियो ।
विस्तृत प्रतिवेदन सार्वजनिक गरेपछि पाँचखालको सम्पदालाई प्राथमिकतामा राखेर थप उत्खनन गर्नुपर्ने कुँवरले जनाए । विभागले पुनःसर्भे र उत्खननबारे कार्ययोजनासहित पाँचखाल नगर कार्यालयलाई योजना प्रतिवेदन बुझाएको थियो ।
विभागका प्रवक्ता कुँवरका अनुसार स्थानीय तहले आफ्ना क्षेत्रका ऐतिहासिक सम्पदा संरक्षण एवं जीर्णोद्धारा गर्नुपर्दछ । त्यतिबेला पहिलो चरणमा जमिनमुनि के–कस्तो भौतिक संरचना छ भन्ने पत्ता लगाउन काभ्रेपलाञ्चोकको पाँचखालसहित नेपालको अन्य क्षेत्रमा जियोफिजिकल सर्भे गरिएको उहाँले जानकारी दिनुभयो । बेलायती सर्भे उपकरण र ड्रोन क्यामेरामार्फत जियोफिजिकल सर्भे गरिएको थियो । सर्भे उपकरणले सम्पदा क्षेत्र तथा जमिनमुनि सात मिटरसम्मको भौतिक अवस्था पत्ता लगाउँछ ।
नगरप्रमुख महेश खरेलले पाँचखालको सम्पदा संरक्षणमा योजनाबद्ध प्रयास भइरहेको बताए । “थप सर्भेक्षण भएर प्रतिवेदन आएपछि मात्रै नगरद्वारा सम्पदा संरक्षणको ‘मास्टर प्लान’ बनाइन्छ, सम्पदा क्षेत्रमा जमिनका विषयमा छानबिन पनि गर्नुपर्ने देखिन्छ”, उनले भने । उनका अनुसार पुनःसर्भेका लागि विभागले थप प्रक्रिया चाल्नुपर्छ । सर्भेयता उक्त स्थानमा खेतीपाती हुँदै आइरहेको छ ।
बेलायतस्थित दूरहाम विश्वविद्यालयबाट आठ सदस्यीय विज्ञ टोलीले पाँचखाल–७ स्थित सिमालीघारी, वासुकी स्थान, माल्टार, कञ्केश्वर महादेव मन्दिर तथा स्वास्थ्यचौकी आसपासलगायत क्षेत्र तथा ६ नं वडाको भमरकोटसहित विभिन्न स्थानमा एक साता लगाएर सर्भे गरेको थियो । विभागले प्राप्त तथ्याङ्क विश्लेषण गर्दा सर्भे गरिएको स्थानमा ऐतिहासिक सम्पदाको प्रचुर सम्भावना देखिएको तथा बेलायतबाट आएको प्रतिवेदनले पनि एकैखालको सम्भावना देखाएको जनाएको छ ।
विभागले यसअघि संयुक्त राष्ट्रसङ्घीय अङ्ग ९युनेस्को०लाई सन् २०२०, जुन् २९ मा पाँचखालको सम्पदाबारे जानकारी गराइसकेको जनाएको छ । नेपालका केही स्थानमा खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएपछि जियोफिजिकल सर्भे गर्नु आवश्यक देखिएकाले विभागले बेलायतबाट विज्ञ टोली मगाएको विभागले जनाएको हो । त्यसबेला कपिलवस्तुबाट सम्पदा खोज–अनुसन्धान थालेको टोलीले छ जिल्लाका विभिन्न स्थानमा सर्भेको काम सकेको थियो ।
काभ्रेपलाञ्चोकको पाँचखाल क्षेत्रमा करिब करिब तीन वर्षअघि गरिएको खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन सम्पदा भएपछि विभागले जियोफिजिकल सर्भे गरेको जनाइएको छ ।
पाँचखाल क्षेत्रमा उत्खननका क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको उत्खननमा सहभागी विभागका तत्कालीन अधिकृत विष्णुप्रसाद पाठक र वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यद्वारा तयार प्रतिवेदनमा पुष्टि गरिएको छ ।
पाँचखाल–२ माल्टारमा स्थानीयको खेतमा भेटिएका प्राचीन दरबारको गारो, २२ सेन्टिमिटर चौडाइ भएको इँटालगायत सामग्री लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको उल्लेख प्रतिवेदनमा गरिएको छ ।
उक्त स्थानमा प्रारम्भिक उत्खननका क्रममा भेटिएको अन्य आकारका इँटा र अङ्गारको थप अनुसन्धान गर्न बाँकी रहेको उल्लेख गर्दै श्रीरामपाटीमा तीन मिटर लम्बाइ र दुई मिटर चौडाइ पक्की इँटाको गारोभित्र माटाको डुँडको पानी पाइपलाइन भेटिएको थियो । साथै, स्थानीय प्रस्तर प्रयोग गरी एक मिटर ५० सेन्टिमिटरको आधार बनाई ६० सेन्टिरमिटर सुर मिलाएर गारो बलियो बनाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
पाँचखाल नगर क्षेत्रमा भेटिएका सम्पदा सुरक्षार्थ दुई वर्षअघि नै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक समेतले सम्पदा क्षेत्रमा ‘खनजोत’ गर्न रोक लगाउँदै गर्नुपरे विगागको स्वीकृति र सहमति गराउन पाँचखाल नपालाई पत्रमार्फत जानकारी गराइसकेको छ । खोज अनुसन्धानकर्र्ताले उत्खनन क्षेत्रको संरक्षण र अवैध उत्खनन रोक्नुपर्ने सुझाव दिँदै आएका छन् । स्थानीय प्राचीन पलाञ्चोक उपत्यका पुरातत्व खोज तथा अनुसन्धान समितिले पनि नगरभित्रका ऐतिहासिक सम्पदा पुनःनिर्माण एवं नयाँ निर्माण गर्दा पुरातात्विक ढाँचामै निर्माण गर्न नगरलाई सुझाव दिँदै आएको छ ।
(((

तपाईको बिचार